काठमाडौँ। पुनःनिर्माण भएपछि धरहरा सशुल्क सञ्चालनमा आएको एक महिना पूरा भएको छ। यस अवधिमा प्रवेश शुल्कबापत् ५५ लाख रुपैयाँ संकलन भएको छ।
गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्म टिकट बिक्रीबापत ५५ लाख संकलन भएको हो। कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक १ हजार २०० जनाले धरहरा चढ्ने जानकारी दिए।
‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन,’ उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ, छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।’
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार शुल्क तोखिएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो। गत मंसिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।
धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ।
व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार निर्धारण गरिएको छ।