काठमाडौं। सुकेधाराको मुख्य चोकमै बडेमानको भवन ठडिएको छ। भवन मात्र ठडिएको छैन, अगाडि ठूलो खाली जग्गालाई सजिसजाउ गरिएको छ। अर्थात्, पक्की वाल उठाएर करिब १४० मिटर सडकसमेत निर्माण गरिएको छ।
निजी जग्गाबाहेक १४० मिटर बढी सडक निर्माण गरेर सार्वजनिक रुपमै सहज बनाउने व्यक्ति हुन्, देशबन्धु बस्नेत(अजित)। उनले चाहेको भए निजी जग्गामा होटल मात्र बनाउन सक्थे। तर, होटल अगाडि/पछाडि अर्थात् समाजलाई समेत अपनत्व हुने गरी सार्वजनिक सडकसँगै हरियाली पार्क निर्माण गरिदिएका छन्।
२०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको पाँचतारे होटल मर्क्युर सञ्चालक बस्नेतले होटल अगाडिको संरचना व्यक्तिगत लगानीमै निर्माण गरिदिएका हुन्। सडक विभाग, वडा कार्यालयसहित विभिन्न सरकारी निकायबाट स्वीकृति लिएर संरचना बनाएको उनको भनाइ छ। ‘होटल निर्माण हुनु मात्र ठूलो कुराभन्दा पनि त्यस क्षेत्रको विकासमा पुग्ने टेवा महत्वपूर्ण हो,’ सञ्चालक बस्नेतले भने।
होटल पाँच रोपनी क्षेत्रफलमा ११ तले भवनमा फैलिएको छ। १०४ वटा विलासी कोठा रहेको होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका बस्नेतले पहिलो पटक नेपालमा विश्व प्रसिद्ध एकोर ग्रुप भित्र्याएका थिए। बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूह भित्र्याएका हुन्।
एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका सय बढी देशका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक द मेट्रोपोलिटनमा मर्क्युर ब्राण्डमा होटल व्यवस्थापन सम्हालेको हो।
होटलमा आरामदायी र फुर्सदी यात्रुको आवश्यकताअनुरुपका कोठा डिजाइन गरिएको छ। नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हलसमेत उपलब्ध हुनेछ।
आरामदायी लबी बार, पाहुनाका लागि शान्त वातावरण होटलमा पाइनेछ। होटलको ११औं तलामा काठमाडौं उपत्यकालाई नियाल्दै स्वीमिङको मज्जा लिन सकिन्छ। त्यहाँबाट हिमाललाई नियाल्दै कफी र मदिराको चुस्की लिन सकिन्छ।
होटलमा कार्यक्रम र बैंठकका लागि पर्याप्त स्वीट हलसमेत उपलब्ध छ। यस्तै आधुनिक जिम, स्टीम र सौना, वेलनेस सेन्टरसमेत रहेको छ।