काठमाडौँ। कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिने भएको छ। पालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको हो।
विद्यार्थीको नतिजाका आधारमा पालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ। आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसईईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको हो।
जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएको छ। यस विद्यालयले चार लाख अनुदान प्राप्त गरेको छ। दोस्रो जनता नमूना मावि मुनुवाले दुई लाख ५० हजार पाउँदा तेस्रो भएको अरुणोदय मावि खैरीफाँटाले एक लाख ५० हजार प्राप्त गरेको छ।
आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर प्रथम भएको छ। राष्ट्रिय आधारभूत विद्यालयले तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ। दोस्रो हिमालय राष्ट्रिय मावि अमरावतीले दुई लाख रुपैयाँ पाएको पालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए।
“पहिलो वर्ष आधारभूत तह र माध्यमिक तहको कक्षा ८ र १० लाई प्राथमिकतामा राखिएको थियो, आउँदो वर्षदेखि कक्षा ५ को परीक्षा नतिजाका आधारमा पनि विद्यालयले अनुदान पाउने छन्,” अध्यक्ष चौधरीले भने, “यस कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विद्यालय र विद्यार्थीलाई सवल बनाउन गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम सुरु गरेको बताए।