पोखरा। पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा नेपालका लागि बीआईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बीवाईडी एम–६ सार्वजनिक गरेको छ। फेवातालको किनारमा हट एयर बेलुनको अनौठो शैलीमा गरिएको सार्वजनिक कार्यक्रममा साइमेक्सले एकै दिन १०० गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक एमुना श्रेष्ठले बीवाइडी एम सिक्सलाई नेपालमा विद्युतीय सवारी क्षेत्रको नयाँ युगको सुरुआत प्रतीकका रूपमा प्रस्तुत गर्दै यसले ग्राहकको जीवनशैलीलाई थप सहज र आधुनिक बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बेलुन फेस्टिभलमा एम–६ सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले विद्युतीय सवारीसाधनबाट नेपालको दिगो एवम् स्वच्छ यातायातमा योगदान पुग्ने विश्वास गर्दै बिवाईडी वातावरणमैत्री सवारी भएको उल्लेख गरे। ‘आज एकै दिन १०० युनिट गाडी हस्तान्तरण हुनुभनेको ग्राहकको अथाह विश्वास छ भन्ने हो। ग्राहकले हामीप्रति गरेको विश्वासप्रति आभार छु,’ श्रेष्ठले भने।
बीवाईडी एम–६ एक प्रिमियम इलेक्ट्रिक एमपीभी हो, जुन नेपालमा पहिलो पटक फरक शैलीमा प्रस्तुत गरिएको हो। यसमा अत्याधुनिक प्रविधि र विशेषता जडित छन्, जसले यात्रुलाई उच्चतम आराम र दक्षता प्रदान गर्नेछ।
गाडी सार्वजनिक कार्यक्रमले पोखराको पर्यटकीय माहोललाई थप रोमाञ्चक बनाएको छ भने विद्युतीय सवारी साधनप्रति मानिसको चासो र आकर्षण समेत बढाएको देखिएको छ।
सार्वजनिक भएको उक्त गाडीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। बिवाईडी एम–६ मा ५५.४ र ७१.८ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसमा १०० किलोवाटको मोटर जडित छ।
यो कारमा भएको ५५.४ किलोवाटको ब्याट्रीले ४२० र ७१.८ किलोवाटको ब्याट्रीले ५३० किलोमीटर रेन्ज दिने डब्लुएलटिपिले प्रमाणित गरेको छ। यो ७ सिटर गाडीमा हो। यसको ग्राउन्ड क्लियरेन्स १७०एमएम रहेको छ।
बिवाईडी एम– ६ को लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम र उचाइ १६९० एमएम छ। यसमा २८००एमएम लामो ह्रवीलबेस पाउन सकिन्छ।
कारमा ७ प्रिमियम सिट, पानोरामिक ग्लास छत, ५८० लिटरसम्मको लचिलो लगेज क्षमता छ, जसले प्रत्येक यात्रालाई आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ।
१२.८ इन्चको घुमाउन मिल्ने इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बिवाईडीको एड्भान्स लेभल २ एडास प्रविधि समावेश छ। साथै एलइडी टेलल्याम्प, न्यानारोमिक ग्लास, १७ इन्चको अल्लो हिल ६ स्पिकर साउन्ड सिस्टम, भेहिकल टु लोड क्यापसिटी, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ।
एम–६ एउटा बहु–उपयोगी गाडी हो, जसले नेपाली परिवार र व्यवसायका आवश्यकता पूरा गर्न लक्जरी, कार्यक्षमता, र स्थिरतालाई संयोजन गर्ने जनाइएको छ।