काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सामाजिक संस्था एनसेल फाउन्डेसनले क्रिकेट रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरुप २६०० बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
यी सामग्री ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिनेछन्। शनिबार समापन एनपीएलमा कुल ६५३ चौका हानिका थिए। यसबापत फाउन्डेसनले अब घोषणा गरेबमोजिक २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नेछ।
क्रिकेटदेखि कक्षाकोठासम्मको नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ। विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन्।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका थिए। उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए, जसबाट १२० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल २६ चौकाबापत १०४ शैक्षिक सामग्री वितरण पक्का भएको छ।
त्यसैगरी चितवन राइनोजका रवीन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए।
क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले एनपीएल एकदमै उत्साहजनक रहेको एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सिआरएस हेड विशाखा लक्ष्मी खड्काले बताइन्। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाका लागि स्रोत आवश्यक रहेका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइने उनको भनाइ छ।