काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश सरकारलाई आफ्नो अधिकार कार्यान्वयन गराउन खुट्टा कमजोर नपार्न आग्रह गरेका छन्।
यातायात व्यवस्था विभागले सोमबार काठमाडौँमा आयोजना गरेको यातायात क्षेत्रमा देखा परेका समस्या समाधान एवं विगतका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यसबारे आफ्नो धारणा पेश गरेका हुन्।
यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि प्रदेश सरकारले आँट गर्नुपर्ने उनको भनाइ थियो। सवारी चालक अनुमति पत्र छपाई, नवीकरण एवं वितरण जस्ता काम अब प्रदेश स्तरबाट हुनुपर्ने उनको माग थियो।
‘सवारी चालक अनुमति पत्र छपाईलाई धेरै झण्झटिलो र जटिल नठानौँ, यो काम अब सबै प्रदेशबाट हुनुपर्छ,’ उनले भने, ‘अब एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाट हुने गरी सबै प्रदेशले तयारी थाल्नुहोला।’
मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमति छपाईको जटिलता अन्त्य गरी प्रदेश स्तरबाट छपाई र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए। छपाई भएका इम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका थिए।
यातायात विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकालाई कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको बताए।