पुँजीबजार मजबुत बनाउने विषय चर्चा गर्दै गर्दा नीतिगत व्यवस्थालाई सबैभन्दा अगाडि राखेर काम गर्न आवश्यक छ। हाल धितोपत्रसम्बन्धी ऐन संशोधन क्रममा छ, जसमा अपेक्षित वा धेरै नयाँ कुरा समेटिएका छैनन्। धितोपत्रसम्बन्धी ऐनमा हामीले दैनिक काम–कारबाही गर्दा देखापरेका र आवश्यक लागेका विषय बढी मात्रामा समेटिएको छ। नेपालको पुँजीबजार मजबुत बनाउन नीति, प्रविधि, अन्तर्राष्ट्रिय अभ्यास, औजार, जनचेतनाजस्ता विषय महत्वपूर्ण हुन्छन्। सँगै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर, मर्चेन्ट बैंकजस्ता पुँजीबजारसँग जोडिएका निकाय र संस्था पनि त्यत्तिकै मात्रामा सबल हुन जरुरी छ।
यसअघि ऐन संशोधन नहुँदा सिडिएस एन्ड क्लियरिङ तथा नेप्सेका कतिपय काम विनियमावली र नियमावलीमार्फत हुँदै आएकामा हाल त्यसलाई ऐनमै समेट्ने प्रयत्न गरिएको छ। आजका दिनमा हामीले ऐन कस्तो बनायौं, के–कस्ता कुरा समेट्ने काम ग¥यौं भन्ने विषयले पनि हाम्रो पुँजीबजार कता जाँदै छ भन्ने देखाउँछ। हुन त, नीतिहरू कहिल्यै स्थिर हुँदैनन्। प्राथमिक तथा दोस्रो बजार परिवर्तन भइरहन्छ। लगानीकर्ताका इच्छा, आकांक्षा, माग तथा चाहनालाई पूरा गर्ने हिसाबमा ऐन, नियम तथा कानुन परिमार्जन तथा संशोधन कार्य निरन्तर चलिरहन्छ। संशोधन गर्दा वा नयाँ कानुन ल्याउँदै गर्दा हाल अभ्यासमा रहेका कतिपय प्रावधानलाई सँगै अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि छ।
अहिले कुनै पनि कम्पनी प्राथमिक बजारमा जान धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअन्तर्गत जानुपर्ने व्यवस्था छ। यसमा केही समस्या छन् भने त्यसलाई समाधान गरेर जानुपर्छ। यी कम्पनी स्टक एक्सचेन्जमा आउँदा शुुद्धीकरण नियमावलीअन्तर्गत आउने व्यवस्था छ। यसमा रहेका समस्या समाधान गर्दै जानुपर्ने हुन्छ। त्यस्तै, सूचीकृत कम्पनीको कारोबार गर्दा कारोबार विनियमावली आकर्षित हुन्छ। यी सबै नियमावली तथा विनियमावलीमा रहेका समस्या समाधान गर्दै एकअर्कालाई सहयोग गर्ने र नबाझिने बनाउनुपर्ने आवश्यक्ता छ। जस्तै, हामीले लामो समयदेखि इन्ट्राडे ट्रेडिङको कुरा गर्दै आएका छौं, जुन विषयलाई आजसम्म पनि हाम्रो कारोबार विनियमावलीले चिन्दैन।
कानुनी व्यवस्थासहित हामीले इन्ट्राडे सञ्चालनमा ल्याउन प्रारम्भिक अध्ययन गर्दा यसका व्यवस्थामाथि ध्यान दिनुपर्ने हुन्छ। इन्ट्राडे आफैंमा बेग्लै किसिमको बजार जसलाई हाम्रोमा राम्रोसँग बुझिसकेको अवस्था छैन। यसर्थ, यस्ता कुनै पनि विषय हामीले हाम्रो बजारमा भित्र्याउँदै गर्दा त्यसको सकारात्मक र नकरात्मक प्रभावका सबै पक्षमा ध्यान दिन सक्नुपर्दछ। अझ नेपाली पुँजीबजार मजबुत बनाउने र सुधार गर्ने नै हो भने हाम्रा नीतिगत व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जरुरी छ। अन्तर्राष्ट्रिय अभ्यासमा रहेका जुनसुकै प्रविधि, औजार, टुल्स नेपालमा भित्र्याउन पनि सुरुमा नीतिगत व्यवस्था गर्नुपर्ने भएकाले हाम्रा नीति निर्माण कार्य त्यत्तिकै छिटाछरितो र सहज किसिमको हुनुपर्छ।
संस्थागत पूर्वाधार र संरचना
पुँजीबजार सुधारको विषय संस्थागत पूर्वाधारसँग पनि जोडिएको छ। सामान्यतया नेपालको संस्थागत पूर्वाधार एक किसिमले हेर्दा ठिकैजस्तो पनि देखिन्छ। हाम्रो बजारको सबैभन्दा माथि सेबोन छ भने त्यसपछि नेप्से, ब्रोकर, सिडिएस, मर्चेन्ट बैंकरहरू छन्। हाम्रोमा विगतलाई फर्किएर नहेरी आज के छ भनेर हेर्ने र निष्कर्षमा पुग्ने चलन छ। २०३३ मा सेक्युरिटी खरिदबिक्री केन्द्रबाट सुरु भएको नेपाली पुँजीबजारले २०४० मा मात्रै धितोपत्रसम्बन्धी ऐन पायो। पहिलो सेक्युरिटी खरिद–बिक्रीको रूपमा एउटा मात्रै संस्था थियो।
तर, विस्तारै नियामकको रुपमा सेबोनको प्रवेश भयो भने बजार सञ्चालकको रूपमा नेप्से भित्रियो। यो क्रममा ब्रोकरहरू पनि जोडिए। सुरुमा ३२ रहेकामा हाल ९० भन्दा बढी ब्रोकर सञ्चालनमा छन्। नेपाली पुँजीबजारको यो यात्रा र हाम्रो अवस्थालाई बाहिरबाट हेर्दा संस्थागत रूपमा ठिकठाकजस्तो देखिए पनि पर्याप्त भने पक्कै होइन। हाम्रो बजार अमेरिका, जापान, हङकङजस्तो होस् भन्ने आकांक्षा छ। तर, बजार त्यस्तो बनाउन त्यहाँ के–कस्ता संस्थागत पूर्वाधार छन् भन्ने हेर्नुपर्छ। नेपाली पुँजीबजार विकसित बनाउने हो भने एउटा सेन्ट्रल काउन्टर पार्टी पनि आवश्यक देखिन्छ।
साथै, हामीले लिक्विडिटी प्रोभाइडर कम्पनी पनि ल्याउन सके त्यसले बजारलाई मजबुत बनाउने कार्यमा सहयोग पुर्याउँछ। विश्वका अन्य मुलुकमा सेटलमेन्ट गर्ने, अक्सन मार्केट चलाउने अलग्गै संस्था रहेको पाउन सकिन्छ। हामीले पनि विशिष्टीकृत कम्पनी ल्याउन सके बजार स्वस्थ र राम्रो हुन्छ। हाम्रोमा बजार बढेको बढ्यै होस्, सबै जनाले नाफा कमाएको कमायै गरुन्, बजार निरन्तर उकालो मात्रै लागिरहोस् भन्ने किसिमको मानसिकता छ। बजार विविधता होस्, संस्था मजबुत होउन्, विकसित निकायले बजारमा काम गरुन्जस्ता धारणा हाम्रोमा विकसित भएको छैन।
प्राथमिक तथा दोस्रो बजार परिवर्तन भइरहन्छ। लगानीकर्ताका इच्छा, आकांक्षा, माग तथा चाहनालाई पूरा गर्ने हिसाबमा ऐन, नियम तथा कानुन परिमार्जन तथा संशोधन कार्य निरन्तर चलिरहन्छ। संशोधन गर्दा वा नयाँ कानुन ल्याउँदै गर्दा हाल अभ्यासमा रहेका कतिपय प्रावधानलाई सँगै अगाडि बढाउनुपर्ने आवश्यक्ता पनि छ।
औजार र प्रविधि
हाम्रोमा ऋणपत्र, डेरिभेटिभ र इक्विटी गरी तीन प्रकारका औजार छन्। निजी कम्पनीबाट जारी हुने ऋणपत्र, अन्तर्राष्ट्रिय एजेन्सीबाट आउने र जारी हुने ऋणपत्र यसमा पर्दछन्। नेपालमा हालसम्म संघीय सरकारले ऋणपत्र जारी गर्ने गरेको छ। तर, मुलुक संघीयतामा गइसकेकाले अब प्रादेशिक र स्थानीय सरकारले पनि आवश्यक्ताअनुसार ऋणपत्र जारी गर्दा राम्रो हुने देखिन्छ। अझ, स्थानीय सरकारमा कुनै वित्तीय फन्ड आवश्यक परे उसैले पनि ऋणपत्र जारी गर्न सकिने अवस्था छ। यस्तै, हाम्रोमा डेरिभेटिभ मार्केटको कुरा पनि उठिरहेको छ। तर, यसतर्फ गएका छैनौं र यसलाई छोएका पनि छैनौं।
हाम्रो पुँजीबजार सूचनाको बजार पनि हो। सामाजिक सन्जालबाट कस्ता सूचना प्रवाह हुन्छन्, लगानीकर्ताले कस्ता सूचनालाई पछ्याउँछन् र त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा रहेको डेरिभेटिभ मार्केटले पनि ठूलो हिस्सा ओगटेको छ, जसको एक प्रतिशतसम्म पनि हामी गएका छैनौं। अहिलेको हाम्रो पुँजीबजार इक्विटी बजारजस्तै छ। हाम्रो बजारमा आएका वा सहभागी भएकाले नाफा त्यतिबेला मात्रै गर्न सक्छन्, जतिबेला बजार बढेर जान्छ। यो बजारबाट नाफा कमाउन सस्तोमा किनेर महँगोमा बेच्न सक्नुपर्छ। त्यसभन्दा अर्को विकल्प नभएकाले हाम्रो पुँजीबजारलाई एकतर्फी बजारको रूपमा लिइन्छ। अन्यत्र दुईतर्फी बजार पनि हुन्छ, जहाँ घटेको र बढेको दुवै समय लगानीकर्ता वा सहभागीले नाफा कमाउन सक्छन्।
यहीसँग जोडिएको विषय हो, इन्ट्राडे ट्रेडिङ। इन्ट्राडे ट्रेडिङमा सर्टसेल गर्न सकिन्छ र बजार घटेको समय पनि नाफा कमाउने अवसर हुन्छ। तर, हाम्रोमा आजै किनेर आजै बेच्न सकिनेलाई मात्रै इन्ट्राडेको रूपमा बुझिएको छ। इन्ट्राडे आफैंमा सरल बजार भने होइन। यसबारे हामीले अझै धेरै बुझ्न र बुझाउन बाँकी छ। हाम्रोमा म्युचुअल फन्डलाई इक्विटीको वर्गमा राख्ने गरिन्छ। म्युचुअल फन्डले पछिल्लो एक दशक अवधिमा फड्को मारेको छ। हाम्रोमा करिब तीन दर्जन एसेट म्यानेजमेन्ट कम्पनीले एक÷दुई वटा स्किम चलाइरहेका छन्। यद्यपि, विदेशी बजारको कुरा गर्ने हो भने म्युचुअल फन्डले दिने सेवा र उनीहरूले ल्याउने प्रोडक्ट धेरै किसिमका हुन्छन्।
बजार सचेतना र मानवीय पक्ष
हामीले बजारमा प्रयोग हुने धेरै किसिमका औजार तथा टुल्सका कुरा गर्दा अर्को महत्त्वपूर्ण मानवीय पक्षलाई पनि छुटाउन मिल्दैन। हामीले जे–जस्ता संस्था, निकाय वा प्रविधि बनाए पनि त्यसलाई चलाउने भनेको मानवीय स्रोतले नै हो। यसर्थ, हाम्रो मानवीय पक्ष पनि बजार बुझेको र प्रविधि तथा औजार बुझ्ने किसिमको हुन आवश्यक छ। हाल पुँजीबजारमा अधिकांश मानिसको बुझाइमा फरक परेको वा विषयवस्तुको राम्रो ज्ञान नभएकाले पनि एकअर्कामा द्वन्द्वको अवस्था सिर्जना भएका छ। बजारमा रहेका एक संस्थाले अर्को संस्था र एक व्यक्तिले अर्को व्यक्तिलाई दोष लगाउने काम पर्याप्त जानकारी नभएकाले भइरहेको देखिन्छ।
सेबोन, नेप्से, धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकरमै वित्तीय चेतनाको कमी छ भन्ने विषय सबैले स्वीकार्नुपर्छ। यसका अलावा बजारमा सहभागी हुन आएका संस्थागत लगानीकर्ता तथा अन्य किसिमका लगानीकर्तालाई शिक्षित गर्नु आवश्यक छ। यसैसँग हाम्रो प्रविधिको विषय पनि जोडिएर आउँछ। हिजो र आजको दिनमा सेयर कारोबार गर्ने प्रवृत्ति फेरिएको छ। प्रविधि दुईधारे तरबारजस्तै हुन्छ। यसले कारोबारलाई सजिलो र कामलाई सहज बनाउँछ। हिजोका दिनमा हामी लाइन बसेर कारोबार गर्ने गर्दथ्यौं तर आजको दिनमा त्यो अवस्था बदलिएको छ। कागजी प्रक्रिया र लेनदेनलाई प्रविधिले सहज बनाएको छ।
सेबोन, नेप्से, धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकरमै वित्तीय चेतनाको कमी छ भन्ने विषय सबैले स्वीकार्नुपर्छ। यसका अलावा बजारमा सहभागी हुन आएका संस्थागत लगानीकर्ता तथा अन्य किसिमका लगानीकर्तालाई शिक्षित गर्नु आवश्यक छ।
तर, प्रविधि प्रयोगसँगै कारोबारमा हुने नाफा–नोक्सानको मात्रालाई पनि बढाएको छ। हिजोका दिनमा प्रविधि विकास नहुँदा काठमाडौं केन्द्रित भएर मात्रै मानिसले सेयर कारोबार गर्दथे। आजका दिनमा यो सेवा गाउँगाउँ पुगेको छ। सेयरमा लगानी गर्ने जति सबैले नाफा कमाउँछन् भन्ने हुँदैन। त्यसैले हिजोका तुलनामा आजको दिनमा जोखिम गाउँगाउँ पुगेको छ। प्रविधिले जति ठूलो संख्यालाई बजारमा जोड्छ, यसले त्यति ठूलो संख्यालाई जोखिममा पनि राख्छ। हिजोका दिनमा अनलाइन प्रणाली नहुँदासम्म केही भयो भने पनि थोरै क्षति पुग्न सक्थ्यो। तर, आजका दिनमा कुनै किसिमको असर पुग्यो भने वा सिस्टम ह्याक भयो भने एकै पटक ठूलो क्षति पुग्न सक्छ।
हाम्रो पुँजीबजार सूचनाको बजार पनि हो। सामाजिक सन्जालबाट कस्ता सूचना प्रवाह हुन्छन्, लगानीकर्ताले कस्ता सूचनालाई पछ्याउँछन् र त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ। हुन त, हामीले पुँजीबजारलाई समाजभन्दा धेरै अगाडि बढेको र विकसित भएको रूपमा कल्पना गर्न सहज हुन्छ। तर, यो बनाउँदा समाज जुन किसिमको हो, त्यस्तै हुन्छ। हाम्रो समाज र पुँजीबजारले प्रयोग गर्ने तथा पहिल्याउन सक्ने प्रविधि नै प्रयोगमा ल्याउनुपर्ने हुन्छ। जस्तै, इन्ट्राडे सुरु गर्ने कुरा गर्दै गर्दा त्यस किसिमको जनशक्ति हाम्रोमा बनिसकेको छ÷छैन भन्ने विषयलाई हेर्नुपर्ने हुन्छ।
गैरआवासीय नेपालीको लगानी
गैरआवासीय नेपाली नागरिकको पुँजी बजारमा भित्र्याउनुपर्ने विषय पनि उठिरहेको छ। तर, विदेशमा बसेको कुनै व्यक्तिले नेपालमा लगानी गर्ने भनेको प्रतिफल लैजानलाई नै हो। जस्तै, यस वर्ष कुनै एउटा विदेशीले नेपालमा १ लाख अमेरिकी डलर लगानी गर्यो र १० हजार डलर नाफा कमायो भने उक्त १ लाख १० हजार डलर हामीले सहजै लग्न दिन्छौं वा दिँदैनौं? हाम्रो नीति कस्तोे छ? यस विषयमा सोच्नुपर्छ। यत्तिकै लगानी ल्याउने कुरा मात्रै गरेर हुँदैन। विदेशी लगानी गर्नेले पनि यहाँ सहयोग गर्छु भनेर आउने होइन। यहाँबाट नाफा लैजान आउने हो। हामीले त्यस्तो नाफा लैजाने बाटो कति सहज बनाएका छौं भन्ने कुरालाई हेरेर मात्रै विदेशी लगानी ल्याउने कुरा गर्नु उपयुक्त हुन्छ।
पुँजीबजारमा उत्पादनमूलक कम्पनी र बुक बिल्डिङ प्रक्रिया
उत्पादनमूलक कम्पनी पुँजीबजारमा सहभागी नभएको भन्दै हामीले बुक बिल्डिङ प्रणाली ल्याएका थियौं। कम्पनी स्थापना गर्दा दुःख गरेको र ठूलो मिहिनेतपछि राम्रो कम्पनी बनेको हुनाले प्रतिकित्ता सय रुपैयाँमा सार्वजनिक सेयर निष्कासन गर्न नसकिने कुरा उठ्यो। यसपछि, बुक बिल्डिङबाट मूल्य तय गरेर पब्लिकमा जाने भनिए पनि सो प्रक्रिया सुरुमै विवादमा पर्यो। कुनै कम्पनी आईपीओमा आउँदा पुँजी संकलन गर्नभन्दा पनि सेयरलाई प्रोडक्टको रूपमा ल्याएर बिक्री गर्नेजस्तो अवस्था देखिएको छ।
जस्तै, कुनै बिजुली कम्पनीको काम बिजुली बिक्री गर्ने नभएर सेयर बेच्ने जस्तो ढंगमा प्रस्तुत भएको छ। उत्पादनमूलक कम्पनीलाई पुँजीबजारमा ल्याउने बुक बिल्डिङ प्रक्रिया विश्वमै स्थापित र राम्रो देखिएको छ। नेपालमा भने सुरुआतमै यो अवधारणामा समस्या भित्र्याइएको छ। संसारका धेरै राम्रो कुरा ल्याउँदा नेपालमा विवाद पर्नु आफैंमा राम्रो विषय होइन। यद्यपि बुक बिल्डिङ प्रक्रियालाई सच्याउने कुरा उठिरहेको छ।
यदि सच्चिएर आए यसले उत्पादनमूलक कम्पनी ल्याउने वातावरण सहज बनाउनेछ। व्यक्तिगत रूपमा भन्नुपर्दा उत्पादनमूलक र राम्रो काम गर्न नसकेका कम्पनीलाई बजारमा भित्र्याएर यसले राम्रो गर्छ जस्तो मलाई लाग्दैन। सेयरबजार राम्रो हुन सूचीकृत कम्पनी सबल हुनुपर्छ र उनीहरूको उत्पादन राम्रो बढ्नुपर्छ। साथै, उनीहरूले पर्याप्त नाफा कमाउनुपर्छ। तर, हाम्रो कम्पनीले नाफा कमाउन सकेका छन्/छैनन्, उत्पादन गर्न सकेका छन्/छैनन् भन्ने विषयलाई पनि हेर्नुपर्छ।