काठमाडौँ। विश्व प्रसिद्ध बिजनेस रियालिटी सो ‘सार्क ट्यांक’ नेपाल भित्रिएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हिमालय टेलिभिजनले ‘सार्क ट्यांक नेपाल’ केही महिनाबाट प्रसारण गर्ने जनाएको हो।
सोमबार नै सार्क ट्यांक नेपालको पहिलो सिजनका लागि ५ जना सार्कहरु सार्वजनिक भएका छन्। उनीहरुले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपको व्यवसाय विस्तारमा सहयोग पुर्याउने छन्।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्वस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति अनुबन्ध भएका छन्।
यी ५ अगुवा व्यवसायीहरुले उत्कृष्ट सोच र सम्भावना भएका तर लगानी जुटाउन संघर्ष गरिरहेका नव व्यवसायीलाई लगानीसँगै व्यवसाय सफलत बनाउन सहजीकरण गर्ने बताइएको छ। ५ जना सार्क सार्वजनिक गरेको हिमालय टिभीले बाँकी २ जना सार्क पछि सार्वजनिक गर्ने जनाएको छ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको उक्त शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बनेको छ। ५३ देशमा प्रशारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ।
सार्क ट्यांकमा अनुबन्ध हुने नेपाल ५४ औँ राष्ट्र हो। यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तानलगायतका देशमा सार्क ट्यांकको नामबाट प्रसारण हुँदै आएको छ। बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुन्छ।
सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिन भन्छिन्, ‘नेपाली नवप्रर्वतनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौँ, यसले दक्षिण एसियाभित्र सार्क ट्यांक ब्राण्डलाई बलियो बनाउँदै नेपालबाट बजारमा आउने नवीन उद्यमहरुको प्रतीक्षा गरिरहेका छौँ।’
हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले ३/४ वर्ष पहिला नै उक्त कार्यक्रम नेपाल भित्र्याउन खोजे पनि कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न ढिला भएको बताए। कार्यकारी निर्देशक कँडेल भन्छन्, ‘यो केवल रियालिटी शो मात्र नभई नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नवीन क्रान्ति ल्याउने माध्यम बन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’
हिमालय टेलिभिजन एचडीले सार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको शृङ्खला प्रसारण गर्ने तयारी गरेको छ। व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित तथ्यांक प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्छन्।
व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन्। सार्क ट्यांक नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नुपर्ने छ।