काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री बद्री पाण्डेले पर्यटकलाई सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा उनले निर्देशन दिएका हुन्।
‘त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थल संवेदनशील क्षेत्र हो, राजनीतिक मान्छेको सरल पहुँच भएकाले यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ, सुरक्षा निकायको भूमिका अझैँ प्रभावकारी बनाउनु पर्ने देखिन्छ, हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ,’ उनले भने, ‘एक पटक आउने विदेशी पर्यटकलाई फेरि आउने वातावरण बनाउनुपर्छ।’
मन्त्री पाण्डेले ४६ लाख क्षमताको त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेको स्मरण गर्दै प्रविधिमैत्री सेवा प्रवाह गरी चुस्तदुरुस्त पार्न अनुरोध गरे। उनले विमानस्थलमा देखिएका समस्याको पहिचान गरी १५ दिनभित्र कार्य योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
‘भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति सयम गर्ने भनेर प्राथमिकरण गर्नुहोस्, त्यसका लागि १५ दिनभित्र कार्य योजना बनाएर अघि बढ्नुहोस्,’ उनले थपे।
मन्त्री पाण्डेले विमानस्थलमा आउने गुनासोलाई सहज रुपमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशन दिँदै अन्तर मन्त्रालयमार्फत हुने समन्वात्मक कार्यका लागि अग्रसर रहने बताएका थिए।