काठमाडौं। ग्लोबल आइएमई बैंक आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीबाट उत्पादित वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको छ।
उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन नारालाई आत्मसात् गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकले काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्नेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाटबजार उद्घाटन गर्दै दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्नु यसको उद्देश्य रहेको बताए।
हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरणमा सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला दिने सीईओ रेग्मीको भनाइ छ।
उनले हाटबजारमा विषादीरहित कृषि उपज, रैथाने बाली तथा सोहीअनुरुपका बालीका उत्पादन, स्थानीय स्रोत उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवालगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए।
हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २३७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।