काठमाडौं। विसं. १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिए पनि स्याहार नहुँदा जीर्ण बनेसँगै बन्द चुरियामाई सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुलाइने भएकाे छ।
२०२० सम्म उक्त सुरुङमार्ग हुँदै सवारी साधन सञ्चालन हुन्थे। तर, कसले निर्माण गर्ने र कसकाे मातहत रहने भन्ने विवादसँगै सुरुङमार्ग गरिएकाे थिएन। पछि बागमती प्रदेश सरकारको चार करोड ५७ लाखको लागतमा जीर्ण सुरुङमार्ग गत २०७९ साल वैशाख १९ गते जीर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो।
प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरेको सुरुङमार्ग आज औपचारिक रुपमा हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरिने भएको हो।
कुल १९८ मिटर लम्बाइको सुरुङमार्ग पुनःनिर्माणपछि २२५ मिटरको पुगेको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिए।
बागमती प्रदेश मुकाम रहेको हेटौंडा उपमहानगर–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गरिने भएको छ। हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।
अवलाेकनका लागि खुलाइए पनि सर्वसाधारणले समेत शुल्क तिर्नुपर्नेछ। सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २० र पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र आपांगता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ।
सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाकाे दाबी छ। शुल्क लिएर सुरुङमार्ग व्यवस्थापनमा खर्चिइने उनकाे जानकारी दिइन्।
पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताइन्।
उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पोखरेलले जानकारी दिए।