काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित लक्षित अस्थायी आवास हस्तान्तरण गरेको छ।
बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाडका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए। उनले प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यो परियोजना अघि बढाएको जानकारी दिए।
बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो।
बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो।
नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत उपस्थित थिए।
२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो।
बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि १ करोड बराबरको सहयोग घोषणा गरेको थियो।