काठमाडौं। नेपाल विद्युत् प्राधिकरण व्यवस्थापन सिष्टम सुधार्न असक्षम हुँदा त्यसको मार उद्योगी व्यवसायीले ब्यहोर्नुपरिरहेको छ। प्राधिकरण व्यवस्थापनले विद्युत् सिष्टमलाई चुस्त र दुरुस्त राख्न नसक्दा उद्योगमा अहिले दैनिकको १५ पटकसम्म लाइन ट्रिपिङको मार खेप्नुपरेको उद्योगीले बताएका छन्।
पछिल्लो एक महिनादेखि नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अघोषित लोडसेडिङ र बिना सूचना विद्युत कटौतीले ठूला नोक्सानी भइरहेको छ।
उद्योग प्रतिष्ठानहरुको अक्सिजनकै रुपमा रहेको विद्युतको नियमित आपूर्ति हुन नसकेकाले उद्योगहरु आफ्नो क्षमताभन्दा धेरै कम क्षमतामा सञ्चालन भइरहेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अनुसार प्राधिकरणले घोषणा गरेको “लोडसेडिङमुक्त औद्योगिक क्षेत्र” तथा “उज्यालो नेपाल” को नाराबाट उत्साहित भएका उद्योगीहरु पछिल्ला वर्षमा हुन थालेकोे विद्युत कटौती, गुणस्तरीय विद्युत आपूर्तिको अभावको कारण उद्योगहरुको उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको छ ।
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्याहरु खेपिरहेकै बखत विद्युत कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन्।
विद्युत कटौतीले गर्दा डिजी सेटबाट उद्योग सञ्चालन गर्नु पर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकोले उद्योग नै बन्द राख्नु पर्ने अवस्था रहेको छ ।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४÷१५ पटकसम्म ट्रिपिङ भइरहेका कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थहरु नोक्सान भइरहेको छ ।
कयस समस्याको समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने सङ्घको धारणा रहेको छ ।
उद्योगहरुबाट खपत भएको विद्युत महसुलको रकम जुन किसिमले नेपाल विद्युत् प्राधिकरणले असुल गर्ने गर्दछ सोही किसिमको गुणस्तरीय विद्युत आपूर्ति गर्नु पर्ने धारणा सङ्घको रहेको छ ।