काठमाडौं। बैंक तथा वित्तीय संस्थामा करिब ५ खर्ब हाराहारी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ। ठूला उद्योगी व्यवसायीहरुले कर्जा लिन छाडेपछि लगानी योग्य रकम बैंकमा थुप्रिँदै गएको हो।
बैंकमा तरलता अधिक हुन थालेसँगै कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ६० प्रतिशतसम्म झरेको हो। नेपाल राष्ट्र बैंकको तथयांकअनुसार मंसिर मसान्तसम्म बैंकिङ प्रणालीमा ४ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात थियो। अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात रहेको थियो। एक वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम थप भएको देखिन्छ।
यो एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा कुल ६ खर्ब ४४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थप हुँदा कर्जा भने ३ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ मात्रै थप भएको देखिन्छ। जसमा वाणिज्य बैंकहरुमा ५ खर्ब ९९ अर्ब ४९ करोड निक्षेप थप हुँदा ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ कर्जा थप भएको हो।
साथै, विकास बैंकहरुमा २७ अर्ब १३ करोड निक्षेप थप हुँदा २३ अर्ब ५४ करोड कर्जा र वित्त कम्पनीहरुमा १७ अर्ब ८२ करोड निक्षेप थप हुँदा ९ अर्ब २८ करोड रुपैयाँ कर्जा थप भएको हो।
नेपालको बैंकिङ क्षेत्रमा कर्जाको मागे चाडपर्वको समाप्तिपछि बढ्ने गर्छ। तर, यो वर्ष कर्जाको माग हुने सिजनमा पनि अपेक्षित मात्रामा कर्जाको माग नबढेको नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी बताउँछन्।
‘अघिल्ला वर्षमा दसैं तिहार सकिएपछि नयाँ कर्जाको डिमाण्ड हुन्थ्यो, नियमित जाने रिटेल साना कर्जाहरुमात्रै गइरहेका छन्,’ संघका उपाध्यक्ष रेग्मीले क्यापिटल नेपालसँग भने, ‘अहिले नयाँ तथा ठूला उद्योगी व्यवसायीले कर्जा माग गरेकै छैन, अपेक्षित रुपमा कर्जा नगएको पक्कै हो।’
अहिले पुराना ऋणीहरुले मात्रै नियमित कर्जा तिर्ने र थप कर्जा लिइरहेको हुँदा बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कम भएकै कारणले सिडी रेसियो तल्लो बिन्दुमा पुगेको उनको भनाइ छ।
चालु वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६६ खर्ब ४७ अर्ब ९४ करोड निक्षेप संकलन गर्दा ५३ खर्ब २७ करोड ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमा वाणिज्य बैंकहरुले मात्रै ५९ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४७ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सिडी रेसियो ९० प्रतिशत कायम गरेर कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। अर्थात् बैंकहरुले निक्षेप एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउँछन्। तर, मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सिडी रेसियो ७८.४२ प्रतिशत कायम छ। गत वर्षको सोहीअवधिमा वाणिज्य बैंकहरुको सिडी रेसियो ७९.६१ प्रतिशत कायम थियो।
चालु वर्ष अपेक्षित कर्जा प्रवाह गर्न नसक्दा बैंकको सिडी रेसियो ६० प्रतिशतको हाराहारीमा झरेको छ। गत मंसिर मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सिडी रेसिायो ६०.८६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८.९७ प्रतिशत कायम थियो। साथै उक्त अवधिमा ८ वटा बैंकको ७० देखि ८० प्रतिशतसम्म र १० वटाको ८० प्रतिशतमाथि ८५.०५ प्रतिशतसम्म कायम छ।