काठमाडौं। पाँच महिनाको अवधिमा साढे ४ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन देखि मंसिर) सम्ममा ४ हजार ६ सय ९७ युनिट चार पांग्रे सवारीसाधन नेपाल भित्रिएका हुन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कार जिप र भ्यान गरी कुल ११ अर्ब २७ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् उक्त आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक २०८/८१ को सोही अवधिमा भने ९ अर्ब १० करोड रुपैयाँ बराबरको ३ हजार ६ सय ८६ युनिट ईभी गाडी नेपाल भित्रिएका थिए। उक्त आयातबाट सरकारले ४ अर्ब २ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको गाडीको संख्या १ हजार ११ युनिट बढी हो।
मोटरसाइकल आयतमा पनि वृद्धि
वर्षैपिच्छे घटिरहेको दुईपांग्रे सवारीसाधन आयात विगतको तुलनामा बढेको छ। विगत वर्षमा घटिरहेको दुईपांग्रे सवारीसाधन आयात चालू आर्थिक वर्षको पाँच महिनामा उल्लेख्य बढेको हो। हाल नेपाली बजारमा विभिन्न नयाँ ब्रान्डका दुईपांग्रे सवारीसाधन आइरहेका छन्। नयाँ–नयाँ ब्रान्डको इन्ट्री भएका कारण दुईपांग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९७ हजार ७ सय ६१ युनिट मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका छन्।
यस अवधिमा ११ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बराबरको ९३ हजार ९ सय ९१ युनिट इन्धन बाइक तथा स्कुटर नेपाल भित्रिएका छन् भने ४१ करोड ८८ लाख रुपैयाँ बराबरको ३८ सय १० युनिट विद्युतीय बाइक तथा स्कुटर भित्रिएका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ५८ हजार ८ सय ५२ युनिट बाइक तथा स्कुटर नेपाल भित्रिएका थिए।
यस अवधिमा ६ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ५६ हजार १६२ युनिट इन्धन बाइक तथा स्कुटर नेपाल भित्रिएको थिए भने ३३ करोड ४८ लाख रुपैयाँ बराबरको २ हजार ६ सय ९० युनिट विद्युतीय बाइक तथा स्कुटर भित्रिएको थियो।