काठमाडौँ। शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को सर्वाेत्कृष्ट खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडा ई-५ कार हात पारे। सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहेका उनले उपाधि जिताउन नसके पनि आफ्नो भागमा आधा करोड बढीको गाडी हत्याए। ऐरीले गाडी उपहार पाएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमोडा ई-५ कार चलाउँदै यसको मज्जा लिए।
एनपिएल नजिकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) र ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्सबीच उत्कृष्ट नेपाली खेलाडीलाई कार प्रदान गर्ने सम्झौता भएको थियो। एनपिएलको पहिलो संस्करण समाप्त भएसँगै अन्य संस्करणको एनपिएलमा पनि एसपीजी अटोमोबाइलसले गाडी प्रदान गर्ने वा नगर्नेबारे चासो व्यक्त भएको छ।
एनपिएलको दोस्रो संस्करणका लागि फेरि सम्झौता गर्न सकिने कम्पनीको तर्क छ। ओमोडा/जेको ब्राण्डको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइलले एनपिएलसँग जोडिएर आफ्नो उत्कृष्ट एसयूभी मैदानमै राखेको थियो। एसपिजी अटोमोबाइलले उत्कृष्ट नेपाली खेलाडीलाई दिएको ओमोडा ई-५ डिलक्स ५५ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ।
ओमोडा ई-५ का फिचरहरू
ओमोडा ई-५ मा ६१ किलोवाट आवरकोे लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री दिइएको छ। यसमा ९९ किलोवाट आवरको मोटर जडान गरिएको छ। डब्लुएलटिपीका अनुसार उक्त ब्याट्रीले ४३० किलोमिटरको रेञ्ज दिनेछ।
फास्ट चार्जर (८० किलोवाट चार्जर)मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ। ओमोडा ई-५को लम्बाई ४४२४ एमएम, चौडाई १८३० र उचाई १५५८ एमएम छ। यसको ह्वीलवेस २६३० एमएम रहेको छ।
ओमोडाले ई-५ मा सुरक्षाका लागि ६ वटा एयरब्याग, ब्रेक एसिष्ट, हिल होल्ड एसिष्ट, लेन चेञ्ज एसिष्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ। ओमोडा ई-५ मा २४.६ इञ्चको डुअल स्क्रिन, ‘क्रोम सेप्ड’ डोर ह्याण्डल, ८ वटा सोनी स्पिकर, ५० वार्डको वायरलेस चार्जर, सिम्पल वुडग्रेन डिजाइन यसमा उपलब्ध छन्।