काठमाडौं। पोखरामा दोस्रो ड्रागन वोट रेस प्रतियोगिता हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजना हुने प्रतियोगितामा चीन र सिंगापुरका २० टीमको सहभागिता रहने छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सहआयोजनामा पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल चीन मैत्रीपूर्ण ड्रागन वोट रेस आयोजना हुने भएको हो।
२०८१ पुस १४ र १५ गते (२९/३० डिसेम्बर २०२४) आयोजना हुन लागेको ड्रागन वोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समुह पाँच सय डलर पनि प्रदान गरिनेछ।
ड्रागन वोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ। चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन वोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिवल आयोजना हुन्छ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ। चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन्। चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो। चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।
सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।