काठमाडौँ। सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनसँगै सडक सुरक्षा सहज बनाउन सकिने बताएका हुन्।
मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवालसमेत जरुरी भएकाले मन्त्रालयले त्यसतर्फ ध्यान दिएको बताए। विभिन्न निकाय तथा विज्ञहरूसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई दर्विलो बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थान तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानूनी तथा नीतिगत जटिलता भएमा त्यस्ता व्यवस्था सरल पार्न मन्त्रालय तत्पर रहेको बताए।
छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताएका थिए।
यस्तै, प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुंगेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठलगायत मन्त्रालयका प्राविधिकसहित सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल भएको थियो।
त्यस क्रममा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानूनी व्यवस्था सरल बनाइदिन आग्रह भएको थियो।