कुनै पनि मुलुकको अर्थतन्त्र चलायमान छ/छैन भन्ने विषयको निर्धारण त्यहाँको पुँजी बजारको अवस्थाले जनाउँछ। पुँजी बजारलाई अर्थतन्त्रको ऐना पनि भन्ने गरिन्छ। पछिल्लो समय नेपाली सेयर बजार सुस्ताउँदो गतिमा छ। लगानीकर्ताको मनोबल कमजोर छ। यस्तो अवस्थामा पनि सरकारले यस क्षेत्रलाई प्राथमिकता नदिएको विषय लामो समयदेखि उठ्दै आएको छ। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रभावकारी काम गर्न नसकेको र बजारको विकास तथा विस्तारमा सन्तोषजनक योगदान गर्न नसकेको गुनासो छ।
यद्यपि, नेपाली पुँजी बजारमा ६२ लाख बढी नागरिक जोडिएका छन्। पुँजी बजारको महत्त्वपूर्ण अंग स्टक ब्रोकरमा हाल ४३ नयाँ ब्रोकर थपिएका छन्। नयाँ ब्रोकर थपिएसँगै सानो बजारमा धेरै स्टक ब्रोकर टिक्न कठिन हुने हो कि भन्ने विषय उठिरहेको छ। करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ। बजारका लागि आवश्यक भनेर चर्चा गरिने नेप्से ३०, एसएमई प्लेटफर्म, मार्जिन लेन्डिङ, सर्टसेलजस्ता कुरा चर्चामा मात्रै सीमित छन्। हालै स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल एकापसमा मर्ज भएर बनेको स्टक ब्रोकर्स एसोसिएसन अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन्।
अध्यक्षमा नियुक्त भएपछि ढकालले बजारलाई सबल र सक्षम बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए। पुँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तीय औजार तथा कारोबार औजार ल्याउन पहल गर्ने, धितोपत्र दलाल व्यवसायीले दिन विभिन्न सेवा विस्तार गर्र्ने वाचा ढकालको थियो। यसै सन्दर्भमा स्टक ब्रोकरको अवस्था, अपेक्षा, समस्या, माग र समग्र पुँजी बजारका विषयमा केन्द्रित रहेर ढकालसँग क्यापिटल नेपालका पदम भुजेलले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय सेयर खरिदबिक्री सुस्ताएको छ। लगानीकर्तामा एक किसिमको निराशा पनि देखिन्छ। यस्तो पृष्ठभूमिमा ब्रोकरको अवस्था कस्तो छ?
बजारमा ४३ वटा नयाँ ब्रोकर थपिएका छन्। नयाँ ब्रोकर थपिएसँगै नागरिक स्टक डिलर र नबिल स्टक डिलरसहित ब्रोकरको संख्या ९२ पुगेको छ। पुँजीका हिसाबमा ११ अर्ब ६० करोड बढीको लगानीसहित नयाँ ब्रोकर बजारमा थपिएका छन्। नयाँ ब्रोकर आएसँगै बजारमा एक किसिमको उत्साह छाउने आकलन थियो। आर्थिक स्थिति सहज नभएको अवस्थामा यति ठूलो पुँजी भएका कम्पनीले बजारमा आउनु आफैंमा ठूलो कुरा हो। नयाँ ब्रोकर आउँदै गर्दा बजार सुस्ताएको भए पनि तरलता, ब्याजदर, बजार साइकल र बियरिस बजारको अन्तिम समय भएकाले यसको सकारात्मक प्रभाव बजारमा प¥यो।
बजारले तीन पटक १८०७ बिन्दुलाई परीक्षण गरेर फर्किएपछि बजार ३ हजार बिन्दुसम्म पुग्यो। तथापि, हाल केही तल झरेर बसेको छ। यो बीचमा बजार किन घट्यो भन्ने विषय अलग होला। तर, पुँजी बजार चलायमान बनाएको खण्डमा त्यसले समग्र बजारको इकोसिस्टमलाई माथि उकास्न सहयोग गर्छ। बजार चलायमान भए राज्यको राजस्व वृद्धिमा सहयोग पुग्छ। कारोबार बढ्दा ब्रोकर व्यवसायीको आम्दानी बढ्छ भने त्यसबाट राज्यले कर प्राप्त गर्दछ। यही कारण बजार चलायमान बनाइनुपर्छ भन्ने मान्यता हाम्रो हो। नयाँ ब्रोकर बजारमा प्रवेश गरेको केही समयमै ब्रोकर कमिसन घटाउने काम भयो। सबै ब्रोकर टिकाउ अवस्थामा पुगेका छैनन्।
नयाँ ब्रोकरले एक वर्षको अवधि पार गरेका छन्। हालको अवस्था हेर्दा सबै ब्रोकरको दिगो व्यवसाय बनिसकेको छैन। यो अवस्थामा पुँजीबजारसम्बन्धी जनचेतना जगाउनुपर्ने, बजारबाट बाहिर रहेकालाई ल्याउनुपर्ने चुनौती छ। नयाँ ब्रोकर आउँदै गर्दा ठूलो मात्रामा ग्राहक ल्याउन सहज नभएकाले पनि समग्रतामा व्यवसाय पर्याप्त नभएको स्थिति छ। नयाँ ब्रोकरले व्यवसाय थप्नु चुनौतीपूर्ण रहेकाले मर्जरको विषय पनि उठिरहेको छ। संख्यामा भन्दा पनि गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले मर्जरमा जानुपर्ने विषय उठाइरहेका हौं।
नयाँ ब्रोकर थपिएसँगै नियामकीय प्रतिबन्धका बीच केही ब्रोकर ग्राहक खोज्दै सडकमा निस्किएको देखिन्छ। उनीहरूले पोर्टफोलियो म्यानेजमेन्ट गरिदिने पनि भनिरहेको पाइन्छ। यसलाई कसरी लिनुभएको छ?
सेयर बजारका विषयमा जानकारी दिनु, ब्रोकर अफिसका विषयमा उल्लेख गर्नु, सेयर बजारमा आउन आग्रह गर्नु र डिम्याट खाता खोल्न लगाउनुजस्ता काम गलत होइनन्। धितोपत्र बोर्ड तथा नेप्सेले दायरा बढाउनुपर्छ भन्ने विषय पनि यिनै कुरासँग सम्बन्धित छन्। धेरै ठाउँमा कार्यक्रम गर्ने, बजारबारे जनचेतना जगाउने कामलाई स्वाभाविक रुपमा लिनुपर्छ। कुनै पनि कम्पनीको आम्दानी सर्वसाधारणमा पनि जाओस् भनेर गरिने कार्यलाई गलत ढंगमा बुझ्न जरुरी छैन। तर, ब्रोकरले पैसा लगानी गरिदिएर कमाएर यति दिन्छु भनेर भन्न पाउँदैनन्। २० करोडको ब्रोकर लाइसेन्स लिएको संस्थाले पोर्टफोलियो म्यानेज्मेन्ट गर्न नपाउने कानुनी व्यवस्था छ।
कारोबार वृद्धि हुँदा ब्रोकर व्यवसायीको आम्दानी बढ्छ भने त्यसबाट राज्यले कर प्राप्त गर्दछ। यही कारण बजार चलायमान बनाइनुपर्छ भन्ने हाम्राे मान्यता हो।
ब्रोकरमा २० करोड, ६० करोड र डेढ करोड गरी तीन किसिमको लाइसेन्स वर्गीकरण छ। पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने संस्था बेग्लै तोकिएको छ। यद्यपि, हिजो ५ करोड पुँजी भएका मर्चेन्ट क्यापिटल कम्पनीले आज पोर्टफोलियो म्यानेजमेन्टको काम गरिरहेकाले २० करोडभन्दा बढी पुँजी देखाएर आएका कम्पनीलाई पनि यो अधिकार दिँदा हुन्छ भन्ने हाम्रो माग हो। मर्चेन्ट क्यापिटलको लाइसेन्स पाएका संस्थाले पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न पाउँछन्। तर, समस्या के भने मर्चेन्टसँग ग्राहक छैनन्। उनीहरूले पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न पाउँछन्।
ब्रोकरसँग ग्राहक छन् पोर्टफोलियो म्यानेजमेन्टको काम गर्न पाउँदैनौं। यसर्थ, जोसँग ग्राहक छन्, उनीहरूलाई पनि पोर्टफोलियो म्यानेजमेन्टको काम दिँदा राम्रो हुन्छ भन्ने धारणा हाम्रो हो। पुँजीका हिसाबमा ५ करोडमा खुलेका कम्पनीले यस्तो अधिकार पाउँदा २० करोडमाथि लगानीमा खुलेका कम्पनीलाई लिन नमिल्ने भन्न नमिल्नुपर्ने हो। यदि, यस्ता दायरा खुलाएको खण्डमा ब्रोकरले पनि व्यवसाय पर्याप्त मात्रामा पाउने थिए। कुनै पनि ब्रोकरले यति कमाएँ, यति प्रतिशत दिन्छु भनिरहेका छन्, जुन गलत छ। संसारभर पनि ग्राहक जसकोमा छन्, त्यसले नै पोर्टफोलियो म्यानेजमेन्टको काम गरिरहेका छन्।
बजारमा एकाध समय बाहेक कतिपय बेला १ अर्ब हाराहारी मात्रै दैनिक कारोबार हुने गरेको छ। तर, ब्रोकर संख्या बढेर ९२ पुगेको छ। यो अवस्था ब्रोकरका लागि कति चुनौतीपूर्ण छ?
हामीसँग बजारमा एउटा मात्रै प्रोडक्ट छ, जुन सेयर खरिदबिक्री गर्ने हो। यसबाहेक अन्य प्रोडक्ट नभएकाले पुँजीबजार यतिमा मात्रै सीमित छ भन्ने हाम्रोमा देखिएको छ। सेयर खरिदबिक्री गर्ने मात्रै काममा नियामक निकायले कमिसनको दर तोकेको छ। नियामकले कमिसनको दर तोक्दै गर्दा व्यवसाय दिगो हुन्छ वा हुँदैन भन्ने विषय पनि हेर्नुपर्दछ। कमिसन दर तोक्दा नियामकले अध्ययन नै नगरी तोकेको छ। लाइसेन्स दिएर शुल्क तोकेपछि त्यसलाई दिगो बनाउने जिम्मा नियामकको हो। हिजो पुँजी थपेर बजारमा आएको कम्पनीले आज मर्जरको कुरा गर्नु भनेको हालको कमिसनले व्यवसाय दिगो भएको छैन भन्ने हो।
नियामकले लाइसेन्स दिँदै गर्दा पाँच वर्षसम्म तिमीहरू टिक्न सक्छौ/सक्दैनौं भनेर दिएको हो। अहिले घाटा भए पनि पाँच वर्षसम्म टिकेर नाफामा जान्छौं भनेर ब्रोकरले त्यसको योजना बुझाएका छन्। यस्तो अवस्थामा नयाँ ब्रोकर बजारमा आएको तीन महिना नपुग्दै ब्रोकर कमिसन घटाएपछि त्यो न्यायोचित भएन भन्ने हाम्रो तर्क हो। पुँजी बजारलाई विस्तार गनुपर्ने भयो, पुँजी र ठूला संस्था आवश्यक परे, जनताले गुणस्तरीय सेवा पाएनन् भनेर ब्रोकर थप्ने कार्य गरिएको हो। निजी क्षेत्रको ठूलो लगानी यस क्षेत्रमा भएकाले त्यसको असर नहेरी कमिसन घटाउने काम उचित होइन।
तथापि, नियामकले बजारमा नयाँ नयाँ प्रोडक्ट थपे ब्रोकर कमिसन घटाए पनि त्यसले असर गर्दैन। बजारमा सर्टसेल, इन्ट्राडे, अफलाइन ट्रेडिङको व्यवस्था हुनुपर्छ। समग्रमा यी सबै कुरा गर्ने भनेको लगानीकर्ताका लागि नै हो। लगानीकर्ता नभएको खण्डमा ब्रोकर, नेप्से, सेबोन वा पुँजीबजार केही पनि हुँदैन। ब्रोकरले सधैं गर्न खोजेको काम पनि लगानीकर्ताको नजरबाटै हो। कमिसन घट्यो भनेर ब्रोकरले विरोध गरेका छैनन्। बजारमा प्रोडक्ट थप्नुपर्छ भनेर मात्रै भनेका हौं। बजार चलायमान बनाउने, कारोबार बढाउने प्रोडक्ट ल्याएको खण्डमा कमिसन घटाउँदैमा खासै असर पर्दैन। बजारमा सर्टसेल, इन्ट्राडेजस्ता प्रोडक्ट थप गर्दा त्यसले कारोबारको दायरा बढाउँदछ। विश्वभर अभ्यासमा रहेका कुरा हाम्रोमा मात्रै आएको छैन।
ब्रोकर मर्जरको विषय पनि उठिरहेको छ। यो कति आवश्यक छ?
मर्जरका विषयमा दुई विषय रहेका छन्। अहिले पुराना ब्रोकरको पुँजी पुगेको छैन, जुन पुरा गरिसक्नुपर्ने समयसीमा आइसकेको छ। नियमावली संशोधन गरेर पुँजी पुर्याउनु वा मर्जरमा जानु भनेकै दिन त्यसको कार्यविधि तथा निर्देशिका आउनुपर्ने थियो। तर, आजसम्म पनि मर्जर कार्यविधि आउन सकेको छैन। मर्जर कार्यविधि नभएर मर्ज गर्न नपाउने र उहाँहरूले पुँजी पुर्याउन नसक्ने अवस्था कायम भएको छ। यसको समाधान भनेको अब पुँजी पुर्याउन एक वर्ष थप गर्ने र यहिबेला मर्जर कार्यविधि ल्याउने काम सेबोनले गर्न सकेको खण्डमा सहज हुने देखिन्छ।
आजका दिनमा जति संख्यामा ब्रोकरको व्यवसाय सुरु भएको त्यसअसार टिकाउ हुने दिगो वातावरण बनेको छैन। डेढ अर्बको स्टक डिलर हुँदै गर्दा उसले १० प्रतिशत आम्दानी कमाउन पनि धेरै ठूलो बजार चाहिन्छ। यो प्रतिफल दिने वातावरण नबनेपछि व्यवसायमा देखिएको हिजोको अवस्था आज कायम भएको छैन। १ अर्ब पुँजी भएको ब्रोकरलाई नै आईपिओमा लगेर सर्वसाधारणलाई सेयरको हिस्सा बनाएर नाफा वितरण गर्ने वातारण बनाउँदा पनि राम्रो हुन्छ। यसले ब्रोकर अझै पारदर्शी हुन्छन् भने त्यसको नाफाको हिस्सेदार सर्वसाधारण बन्न पाउँछन्। यसतर्फ पनि नियामकले सोच्न आवश्यक छ।
एकातर्फ मर्जर कार्यविधि आएको छैन भने अर्कोतर्फ पुराना ब्रोकरले पुँजी पुर्याउन सकेका छैनन्। यो विषयलाई तपाईंहरूले समाधानका लागि कसरी कुरा उठाउनुहुन्छ?
अब अहिलेको समयमा एक वर्ष थप गर्दा अहिलेको आम्दानीलाई पनि पुँजीमा राखेर पुँजी बढाउने काममा लाग्न पाउनुहुन्छ। त्यसपछि कार्यविधि तत्कालै ल्याएपछि समय थप भएको एक वर्षमा उनीहरू मर्जरमा जान सहयोग पुग्छ। पुँजीमा कुनकुन रकम मिसाउन मिल्ने भन्ने विषय कम्पनी ऐनले नै स्पष्ट पारेको छ। अहिले नयाँसँग पुँजी छ भने पुरानोसँग ग्राहक छन्। यसर्थ, नयाँ पुरानो मिल्दा दुबैलाई फाइदा पुग्छ। नियामकले दुई करोड पँुजी रहेको ब्रोकरलाई एकैपटक १० गुणा बढाउन भनेको छ। यो आवश्यक थियो वा थिएन भन्ने विषयमा कुनै किसिमको अध्ययन भएको पाईंदैन। ब्रोकरहरूले दिएको सेवा पैसाले मात्रै उपलब्ध हुने होइन।
जति संख्यामा ब्रोकरको व्यवसाय सुरु भएको त्यसअसार टिकाउ हुने दिगो वातावरण बनेको छैन। डेढ अर्बको स्टक डिलर हुँदै गर्दा उसले १० प्रतिशत आम्दानी कमाउन पनि धेरै ठूलो बजार चाहिन्छ। यो प्रतिफल दिने वातावरण नबनेपछि व्यवसायमा देखिएको हिजोको अवस्था आज कायम भएको छैन।
नयाँनयाँ ब्रोकर कम्पनी पनि मर्जरमा जाने हो भने पुँजी ठूलो हुने देखिन्छ। यसो हुँदा आईपिओमा जानका लागि बाटो खोलेमा सजिलो हुन्छ। हाम्रो नीतिमा अहिले १ अर्बभन्दा माथि पुँजी भएको कम्पनी सजिलै आईपिओमा जानसक्ने व्यवस्था छ। पँुजी बजारमा जोडिएका संघसंस्थामा सर्वसाधारणलाई सहभागि गराएमा अझ धेरै विश्वसनिय हुन्छ। सबैले आफ्नो स्वामित्व छ भन्ने महसुुस गर्छन्। अहिले नागरिक स्टक होल्डर र नबिल स्टक होल्डरलाई आइपिओमा लगेको खण्डमा बजारमा एक किसिमको नजीर बस्छ। यसर्थ, यी र यस्ता विषयमा विचार पुराएर पुँजी बजारको दायरालाई अझै विस्तार गर्नतर्फ सबैले सोच्न आवश्यक छ।
नेप्से ३०, एसएमई प्लेटफर्मजस्ता कारोबार स्थलले लगानीकर्ता, ब्रोकर र बजारलाई कस्तो प्रभाव पार्छ? यी औजार हाम्रोमा आउन नसक्नुको कारण के हुन्?
यी विषय हामीले सधैं उठाइरहेका हुन्। यी कुरा आउन नसक्नुको कारण भनेको नियामक निकाय तयार नहुनु नै हो। यी विषय हामीले जति छिटो ल्याउँछौ बजार त्यति नै राम्रो हुन्छ। यी मात्रै नभएर कानुन सुधारमा नै नियामकले धेरै काम गर्नुपर्ने देखिन्छ। आजभन्दा करिब दुई दशक अगाडिको कानुनले हामीलाई अगाडि बढाइरहेका छन्। नीतिगत सुधारका साथमा हामीले बजारमा नयाँनयाँ औजार भित्र्याउनुपर्छ भने प्रविधिको उच्चतम प्रयोगमा हामी जान आवश्यक छ। प्रविधिको विकास गर्न नसकेको खण्डमा हामीले सबल र सक्षम बजार देख्न सक्दैनौं। यसर्थ, यी समग्र विषयमा सरकारले ध्यान दिन आवश्यक छ।
दैनिक कारोबार समयमा सेयर खरिद बिक्री गर्नका लागि सबैलार्ई फुर्सद नै हुन्छ भन्ने हुँदैन। त्यस्ता लगानीकर्ताका लागि अनलाईन÷अफलाइन दुबै प्रकारको अर्डर फर्म सिस्टमको व्यवस्था हुनु आवश्यक छ। कारोबार समयमा लगानीकर्ता अन्य काममा व्यस्त हुनु पर्दा उसलाई घाटा हुने अवस्थाको अन्त्य हुनु पर्छ। सिस्टममा राखेपछि लगानीकर्ताको ‘अर्डर’ अनुसार सिस्टमबाट अटोमेटिक सेयर खरिदबिक्री हुने बनाएमा राम्रो हुन्छ। यस्तो भएमा लगानीकर्ताले ११ बजेदेखि ३ बजेसम्म टिएमएस खोलेर कारोबार हेरेर बस्नु पर्दन। नेपालको पुँजीबजारमा टेक्नोलोजीको राम्रोसँग प्रयोग हुनै सकेको छैन।
यस्तो सिस्टमलाई टिएमएसमा राख्दा बजार थप सबल बन्छ। प्रविधिको परिवर्तनलाई सबै नियामकिय निकाय र सरकारले समेत समयको आवश्यकताको आधारमा अवलम्बन गर्दै जानु पर्छ। सरकारले पुँजी बजारको विकास गरेर दिनहुँ करोडौं राजश्व लिन सक्छ। भारतमा एकलाख इन्डेक्स पुग्दा हामीलाई कहाँ हो कहाँ लागेको थियो। तर, अहिले भारतको इन्डेक्स दुई लाख नाघ्न लागि सक्यो। संसारभरीका मानिसले आज भारतमा आएर पुँजीबजारमा लगानी गरिरहेका छन्। विश्वका अन्य देशको तुलनामा हाम्रोभन्दा पछाडि सुरु गरिएका इन्डेक्स धेरै माथि पुगिसकेको छन्। हामी भने दुई हजारकै हाराहारीमा छौं।
नेपालमा प्रतिफल वितरण गर्ने कम्पनी भन्दा पनि कमजोर कम्पनीमा बढी लगानी गरको पाइन्छ। यसलाई कसरी लिनुभएको छ?
अन्तर्राष्ट्रिय जगतमा सेयरमूल्य निर्धारण कम्पनीको प्रतिफलको आधारमा गरिएका हुन्छन् र त्यही अनुसार लगानीकर्ताले आफ्नो नाफा आँकलन गरी लगानी गर्छन्। तर, नेपालमा त्यो अभ्यास छैन। पुँजी बजारमा लामो समयको लागि लगानी गर्ने इन्भेष्टर र छोटो समयका लागि लगानी गर्ने टे«ेडर्स दुबै हुन्छन्। उनीहरूले जोखिम लिएर लगानी गर्न पाउने कुरा कानुनबमोजिम छ। हाम्रोमा सूचीकृत कम्पनीहरूको वर्गिकरण गर्दा होस् या अन्य नीति नियमन गर्दा होस् कम्पनी मूल्यांकनको आधारमा हुँदैन। सूचीकृत कम्पनीमध्ये प्रतिफलको आधारले कारोबार हुनेको जोखिम धेरै कम हुन्छ।
ब्रोकरले बजार अस्वस्थ बनाउने काम गर्न सदैन। ब्रोकर कम्पनी, सञ्चालक व्यवस्थापक सबै एकै प्रकारका हुँदैनन्। कुनै एक व्यक्ति वा ब्रोकरले यस्तो काम गरिरहेको छ भने, त्यसलाई सबै ब्रोकर कम्पनीले गर्छन् भन्न मिल्दैन। गल्ती गर्ने कम्पनी तथा व्यक्तिलाई नियामकीय निकायले कानुनी दायरामा ल्याउनुपर्छ।
राम्रो प्रतिफल दिने र पारदर्शी भनिएको बैंक ताथ वित्तीय संस्था र बिमा कम्पनीको सेयर न्यून बिन्दुमा छ। राम्रो कम्पनी भनेर छनाेट गरे पनि खरिद गर्न नपाउने स्थिति हामीकहाँ छ। तर, अन्यत्र हाम्रो पुँजी बजारलाई कम्पनीको मूल्य मार्जिनको नाफा केन्द्रितभन्दा प्रतिफलको आधारमा चल्ने बनाउनु आवश्यक छ। त्यसका लागि नियामक निकायले सिग्नल दिने तबरले केही काम गर्न सक्छ। जसमा कुन कम्पनीको सेयर मूल्य अस्वाभिक धेरै छ? फन्डामेन्टलमा तय भएको मूल्य हो वा होइन, कम्पनी राम्रो छ वा छैन भन्ने विषय नियामकले हेर्नुपर्दछ।
लामो समयपछि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नेतृत्व पाएको छ। नियामकप्रति तपाईंहरूको अपेक्षा के छन्?
सेबोन नेतृत्वसँग निजी क्षेत्रको धेरै अपेक्षा छ। अर्थतन्त्रको ऐना भनिएको पुँजी बजारको नियामक निकायको नेतृत्व ११ महिना खाली राख्ने काम भयो। पहिलेदेखिका आइपिओ स्वीकृति पर्खाइमा छन्। यी सबै कुराको निर्णय चाँडो लिनुपर्ने जिम्मेवारी उहाँमाथि छ। सांसरभरि नै कुनै पनि कम्पनी सुचीकृत गर्ने विषय धेरै जटिल हो। कुनै पनि निजी कम्पनीमा सर्वासाधारण जोड्ने विषय सामान्य होइन। राम्रो कम्पनीहरूले मात्रै पब्लिकमा सेयर जारी पाउनु भन्ने चहना सबैको हुन्छ। यी सबै विषयलाई समेट्ने गरी सेबोन प्रमुखले काम गर्नु होला भन्ने अपेक्षा गरेका छौं। साथै, वर्षौं पुराना नीतिले हाम्रो बजार चलिरहेकाले नीतिगत सुधारको अपेक्षा तथा नयाँनयाँ प्रोडक्ट र औजार भित्र्याउने आशा हामीले गरेका छौं।
पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने संस्था बेग्लै तोकिएको छ। यद्यपि, हिजो ५ करोड पुँजी भएका मर्चेन्ट क्यापिटल कम्पनीले आज पोर्टफोलियो म्यानेजमेन्टको काम गरिरहेकाले २० करोडभन्दा बढी पुँजी देखाएर आएका कम्पनीलाई पनि यो अधिकार दिँदा हुन्छ भन्ने हाम्रो माग हो।
बजार अस्वस्थ बनेको, बम्पिङ एन्ड डम्पिङ हुने गरेको जस्ता दर्जनाैं विषय उठिरहेका छन्। बजार अस्वस्थ बनाउन ब्रोकरको पनि हात हुने गरेको आरोप लाग्ने गरेको छ। यसमा तपाईंको प्रतिक्रिया के छ?
याे सत्य हाेइन। ब्रोकरले बजार अस्वस्थ बनाउने काम गर्न सदैन। ब्रोकर कम्पनी, सञ्चालक व्यवस्थापक सबै एकै प्रकारका हुँदैनन्। कुनै एक व्यक्ति वा ब्रोकरले यस्तो काम गरिरहेको छ भने, त्यसलाई सबै ब्रोकर कम्पनीले गर्छन् भन्न मिल्दैन। गल्ती गर्ने कम्पनी तथा व्यक्तिलाई नियामकीय निकायले कानुनी दायरामा ल्याउनुपर्छ। ब्रोकर कम्पनीका लागि पनि ब्रोकर आचारसंहिता निर्माण गरी यस्ता विषय राख्नुपर्छ। ब्रोकरको काम भनेको कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने होइन।
नेपाली पुँजीबजारप्रति सरकार र आमनागरिकको धारण कस्तो पाउनुहुन्छ?
हामीले विभिन्न समयमा पुँजी बजार सचेतना कार्यक्रम गरीरहेका हुन्छौं। नेपालमा अझै पनि पुँजी बजारको बुझाइ परिवर्तन गर्नुपर्ने देखिन्छ। संसारभरी नै ‘क्यास मार्केट’ र ‘क्यापिटल मार्केट’ छन्। विश्वका अन्य देशमा क्यापिटल मार्केटलाई सबैभन्दा ठूलो मानिन्छ। तर, नेपालमा क्यास मार्केट ठूलो भएको छ। क्यास मार्केट बैंक तथा वित्तीय संस्थामार्फत परिचालित हो। नेपालीले अझै पनि निक्षेप राखेर कर्जा अर्थात् ऋण दिने बैंक र त्यहाँ कार्यरत कर्मचारीालाई ठूला मान्छन्। नेपालको क्यापिटल मार्केटलाई बैंकको क्यास मार्केटले डोमिनेट गरेको छ। तर, बैंकको क्यास मार्केटभन्दा सयौं गुणा ठूलो क्यापिटल मार्केट हो। क्यास मार्केट जोडिने भनेको क्यापिटल मार्केटमै हो।
जुनसुकै देशको अर्थतन्त्रको ऐना भनेर क्यापिटल मार्केटलाई लिइन्छ। हामीले पुँजी लगानी र कर्जा लगानीबीचको फरक नै छुट्याउन सकेका छैनौं। कर्जा लगानीभन्दा ठूलो पुँजी लगानी हो।
नेपालमा सरकार होस् या सर्वसाधारण। क्यास मार्केटलाई ठूलो बनाएर क्यापिटल मार्केटलाई डोमिनेट गर्ने चलन छ। संसारभरि देश विकास गर्नु पर्दा त्यो देश विकास गर्नका लागि पुँजी लगानी गरी थप पुँजी बढाउने सबैभन्दा ठूलो प्लेटफर्म हो। त्यही भएर कुनै पनि देशको अर्थतन्त्र हेर्न त्यो देशको क्यापिटल मार्केट हेर्ने गरिन्छ। नेपालमा अझै पनि पुँजी बजार भनेको सेयर खरिदबिक्री गर्ने बजार हो भनेर मात्रै बुझ्ने गरिन्छ।
कुनै पनि देश विकासका लागि ठूला परियोजनामा लागानी वृद्धि हुनका लागि त्यो देशको पुँजी कर्जाको विकास अपरिहार्य हो। त्यसैले सरकाले ठूला लगानीकर्तालाई सहजै क्यापिटल मार्केटमा इन्ट्री र एक्जिटको व्यवस्था गराउनुपर्छ। हामीले व्यक्तिगत रुपमा लगाएको लगानीले कति प्रतिफल आउँछ भन्ने मात्रै नभएर आफूले गरेको लगानीले समग्र पुँजी बजारमा कस्तो प्रभाव त्यो हेर्नु आवश्यक छ। हामी सबैको चाहना भनेको अन्तार्राष्ट्रिय अभ्यासलाई हामीले कार्यान्वयन गर्न सक्नुपर्छ भन्ने हो। हामीले यो क्षेत्र सुधार गरेमा पुँजी बजार मात्रै नभएर समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्छ।