काठमाडौं। मंसिर १५ देखि सुरु भएको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल आज हुँदै छ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। यी दुईबीचको खेल रोमाञ्चक बन्ने निश्चित छ।
नेपाली क्रिकेटको महाकुम्भ मानिने एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्। दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।
८ टिम सहभागी र साढे ३ करोड खर्चिएर फ्रेन्चाइज खरिद गरिएको एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपालमा पहिलोपल्ट आयोजना गरिएको हो।
प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किंग्स्, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता छ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेको हो भने जनकपुर दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको हो। एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो।
प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ। लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो।
९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ। दुई खेल सुदूरपश्चिम र एक खेल चितवन राइनोजसँगै जनकपुर पराजित भएको छ।
जनकपुर र सुदूरपश्चिमबीच यसअघि भएका दुवै खेलमा त्रिवि मैदान खचाखच दर्शकले भरिएका थिए। फाइनल खेलको टिकट पनि खुलेको केही घन्टामै सोल्ड आउट भएको थियो।
जनकपुरको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार साह घाइते भएसँगै आशिफले पछिल्लो दुई खेलमा कप्तानी गरेका थिए।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणका सात र पहिलो क्वालिफायर गरी कुल आठ खेल खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको छ। एनपिएलमा विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको छ। न्युजिल्यान्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आएका छन्।
त्यसमा जिम्मी निसम र बेन कटिङजस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो।विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याइँ गरेको देखिँदैन। फ्रेन्चाइज टिम किन्नकै लागि करिब तीन करोड माथिसम्म खर्च गरेको छ। पोखरा एभेन्जर्सले करिब तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो। यस्तै कम खर्च गर्नेले पनि कम्तीमा एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ।
एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो। नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ । क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै क्यानले प्रतियोगिता विजेता टोलीलाई १ करोड १० लाख, उपविजेताले ५१ हजार, तृतीय २५ र चाैथाे हुनेले १५ हजार पुरस्कार दिने घोषणा गरेको छ।