काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुराना स्टक ब्रोकर (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को पुँजी वृद्धि नीति लिएर घाँटी निमोठिने गरी मर्जर निर्देशिका बनाउने तयारी थालेको छ। सेबोनले २०७९ भदौ २९ गते स्टक ब्रोकर नियमावली, २०६४ को पाँचौं संशोधन गर्दै पुराना ब्रोकरको पुँजी वृद्धि गराएको थियो।
सेबोनले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स खुलाएर सञ्चालनमा रहेका ५० पुराना ब्रोकर कम्पनीलाई ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो। न्यूनतम २ करोड पुँजीका पुराना ब्रोकर कम्पनीलाई तोकिएको पुँजी बढाउन नियमावलीले दिएको मर्जर विकल्पका लागि नियामकले आवश्यक काम नगरेकाे तीन वर्ष बित्न लागेको छ।
सेबोनले २०८२ असारसम्म तोकिएको पुँजी वृद्धि गर्नुपर्ने गरी नियमावली संशोधन गरे पनि उक्त समयसीमा समाप्त हुनु ६ महिना मात्रै बाँकी रहँदासमेत मर्जर निर्देशिका तयार गर्न सकेको छैन। संशोधित नियमावलीअनुसार धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्न/गाभिन सक्नेछ। तर, त्यसका लागि बोर्डले आवश्यक निर्देशिका बनाउनुपर्ने नियमावलीमा उल्लेख छ।
धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने/गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ। तर, हालसम्म ब्रोकरको मर्जरको बाटो खुला गर्ने गरी निर्देशिका तयार भइनसकेको बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन्।
‘स्टक ब्रोकरले आपसमा मर्जर तथा प्राप्ति गर्न मर्जर निर्देशिका आवश्यक पर्ने नियमावलीले उल्लेख गरेको छ, जुन निर्माणको प्रक्रियामा छ,’ सेबोनका प्रवक्ता घिमिरेले भने, ‘तर, तोकिएको पुँजी नियमवालीले तोकेको समय सीमाभित्रै पुर्याउनु पर्छ, बोर्डले समय थप गर्नेबारे सोचेको छैन।’
नियमावलीले तोकेको समय सीमाभित्रै पुँजी वृद्धि गर्ने प्रयोजनले मर्जर प्रक्रिया सुरु नगर्ने कम्पनी नियामकीय कारबाहीको दायरामा पर्ने उनको भनाइ छ।
एकातिर सेबोनले मर्जरका लागि आवश्यक नीति बनाएको छैन भने अर्कोतिर मर्जरका लागि आवेदन दिनुपर्ने समय सुरु भइसकेको छ। मर्जर तथा प्राप्ति गरेर पुँजी वृद्धि गर्ने ब्रोकरहरुले यही पुस महिनाभित्रै बोर्डमा आवेदन दिनु पर्ने हुन्छ।
एकापसमा गाभिएर वा प्राप्ति भएर बनेको संस्थामा साविक संस्थाको सम्पत्ति तथा दायित्व स्वतः हस्तान्तरण हुने व्यवस्थासहित निर्माण गरिएको विनियमावलीको कार्यान्वयनमा सेबोन चुकेको देखिन्छ। उक्त विनियमावलीमा सेबोनले निर्माण गरेको मर्जर निर्देशिकाअनुसार पुँजी वृद्धि प्रयोजनका लागि ब्रोकर कम्पनीले दिएको समयसीमा समाप्त हुन ६ महिनाअगावै बोर्डमा प्राप्ति तथा मर्जरका लागि निवेदन दिनुपर्छ।
‘न्यूनतम पुँजी पुर्याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाअगावै नियम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ,’ नियमावलीमा भनिएको छ।
तर, अझै ३९ स्टक ब्रोकरले तोकिएको पुँजी वृद्धि गर्न सकेका छैनन् भने कतिपयले हालसम्म कुनै पहल गरेका छैनन्।
सेबोनले मर्जर निर्देशिका समयमै नल्याएकाले २०८२ असार मसान्तसम्म पुँजी अपुग भएका कुनै पनि स्कट ब्रोकरले तोकिएको पुँजी कायम गर्न नसक्ने स्टक ब्रोकर एसोसएसन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउँछन्।
‘अहिलेसम्म मर्जर निर्देशिका आएको छैन। अढाई वर्षसम्म नभएको विषय अब ६ महिनाभित्रै सबै कुरा हुन असम्भव छ,’ एसोसिएसनका अध्यक्ष ढकालले क्यापिटल नेपालसँग भने, ‘सेबोन स्यमको कमजोरीका कारण ब्रोकरले मर्जरको बाटो रोजेर पुँजी पुर्याउन नसकेका हुन्। त्यसैले एक वर्षको समय थप हुनैपर्छ।’
बोर्डले मर्जर निर्देशिका निर्माण गरेर कार्यान्वयनमा ल्याउन ढिला गरेपछि त्यसको क्षतिपूर्ति समेत बोर्डमार्फत हुनुपर्ने उनको भनाइ छ।
बोर्डले २०७४ मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरेर ब्रोकर कम्पनीको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई २ करोड कायम गरेको थियो। सोही पुँजीलाई बोर्डले २०७९ भदौमा २० करोड बनाएको थियो। सेबोनले नयाँ ब्रोकरलाई सेवाअनुसार तीन तहमा विभाजन गरी २० करोडदेखि १ अर्ब ५० करोड पुँजी तोकेर लाइसेन्स दिँदै पुरानालाई पनि ३ वर्षभित्र २० करोड चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो।
दिइएको समयमा जसरी भए पनि पुराना ब्रोकर कम्पनीले तोकिएको चुक्ता पुँजी कायम गराउने गरी सेबोन मर्जर निर्देशिका निर्माणको तयारीमा रहेको सेबोन प्रवक्ता घिमिरेको भनाइ छ।
पुराना ब्रोकर कम्पनीको चुक्ता पुँजी
बोर्डले तोकेको चुक्ता पुँजी कायम गरेर ४३ नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आइसकेका छन्। हाल पुँजी बजारमा धितोपत्र दलाल व्यवसाय गर्ने ९३ ब्रोकर कम्पनी छन्। बजारमा नयाँ ब्रोकर कम्पनीसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्ने पुरानाले पुँजी थप्न सकिरहेका छैनन्।
समान उद्देश्यले तथा प्रयोजनमा बोर्डबाट इजाजतपत्र लिएका कम्पनीको चुक्ता पुँजीमा एकरुपता ल्याउने गरी मर्जर निर्देशिका बनाउने प्रक्रियामा सेबान छ।
बोर्डबाट लाइसेन्स लिएका पुराना ब्रोकर कम्पनीले २०७९ असार मसान्तसम्म पुरानो व्यवस्थाअनुसार सबैले २ करोड चुक्ता पुँजी कायम गरेका थिए। बोर्डद्वारा संशोधित धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०७९ भदौ २३ देखि कार्यान्वयनमा आएको हो।
उक्त समय २९ नम्बर ब्रोकर कम्पनी दीपशिखा धितोपत्र कारोबारको मात्रै २० करोड चुक्ता पुँजी कायम थियो। साथै, ७ वटा कम्पनीको चुक्ता पुँजी १० करोडमाथि थियो। बाँकी ४३ कम्पनीको चुक्ता पुँजी २ करोडमाथि १० करोड कायम थियो। बोर्डले यी कम्पनीलाई पुँजी वृद्धि गर्न दिएको समय सकिन ९ महिना मात्रै बाँकी छ।
यस्तै, ११ वटा ब्रोकर कम्पनीले २० करोड रुपैयाँ पुँजी कायम गरे भने बाँकी ३९ लाई तोकिएको पुँजी पुर्याउन दबाब छ। २०७९ असार मसान्तयता २०८१ असार मसान्त अर्थात् २ वर्षबीचमा २५ ब्रोकर कम्पनीको ३ करोडदेखि ५८ करोड रुपैयाँसम्मले चुक्ता पुँजी थप भएको छ।
यसमा सबैभन्दा बढी सनी सेक्युरिटिजले थप्दा सबैभन्दा कम जेएफ सेक्युरिटिजको छ। २ वर्षअघि २ करोड चुक्ता पुँजी भएको सनी सेक्युरिटिज धेरै चुक्ता पुँजीको कम्पनीका रुपमा स्थापित भएको छ।
बोर्डले पुँजी बढाउन निर्देशन दिए पनि २५ ब्रोकर कम्पनीले हालसम्म १ रुपैयाँ पनि थपेका छैनन्। उक्त समय १८ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको श्रीकृष्ण सेक्युरिटिजलगायत २ करोडदेखि १३ करोड चुक्ता पुँजीका ब्रोकर कम्पनीले २ वर्ष बीचमा पुँजी थप गर्न सकेका छैनन्।