फिजिकल वर्कबाट विश्राम लिएको ८ वर्ष बितिसक्यो। तर, सक्रियता र फिटनेसले शम्भुलाई झनै चम्किलो, फुर्तिलो, ऊर्जावान् बनाइरहेको छ। टेबल वर्कबाट रिटायर्ड भएसँगै सुरु भएको म्याराथन दौडले उनलाई झन् व्यस्त बनाइरहेको छ। कार्यशैली फेर्न र आफूलाई सधैँ ताजगी बनाइराख्न म्याराथन रोजेका शम्भुप्रसाद दाहाल फरक सोच र अभ्यासमार्फत जीवन चलाइरहेका छन्।
५५ वर्ष लागेसँगै नेपालको प्रतिष्ठित व्यावसायिक कम्पनी सिप्रदी ट्रेडिङबाट बाहिरिएका दाहाल अचेल स्मार्ट वर्कमा व्यस्त छन्। दिमागी प्रयोगमार्फत आफूलाई अब्बल ठहर्याउन दाहालको प्रमुख औषधी बनेको छ- म्याराथन दौड।
उनी अहिले ६३ वर्ष लागे। यो उमेरका समकक्षीहरू फरक तरिकाले जीवन चलाइरहेका छन् वा बिताइरहेका छन्। तर, दाहाल आफूलाई त्यो भीडबाट अलग राखेर फरक पहिचान दिलाउन अझ जीवनलाई सशक्त बनाइराख्न म्याराथन दौडमा भाग लिन्छन्।
रिटायर्डपछि दौडमार्फत विश्व घुमिरहने दाहालको यो संक्रियता जोकोहीका लागि गतिलो उदाहरण हो। दौडले तन्दुरुस्त मात्र बनाउँदैन, आफ्नो लक्ष्य पूरा गर्दै गरेका कामहरू र आगामी दिनमा गरिने योजनालाई सफलताको शिखरमा पुर्याउँछ भन्ने निष्कर्ष दाहालको छ। कार्यकारी निर्देशकको रुपमा सिप्रदीबाट बिदा भए पनि उनी हाल स्मार्ट वर्क गर्छन्।
एड्भाइजरको रूपमा सिप्रदीलाई ह्यान्डिल गर्दै आएका छन्। आफ्नो व्यस्त समय तालिकाको बीचमा पनि दौडलाई प्राथमिकता दिइरहन्छन्। विश्वमा हुने ठूला म्याराथनमा सहभागिता जनाउन पुगिहाल्छन्।
रिटायर्ड लाइफमा विश्व दौडिरहेका दाहालसँग तपाई किन दौडिन हुन्छ र अब कति दौडिनुहुन्छ भन्ने जिज्ञासा लिएर पंक्तिकार केही समयअघि उनलाई भेट्न सोल्टीमोडमा रहेको हायात प्लेस पुगेको थियो।
‘बैंक अफ अमेरिका’ लेखेको टिसर्ट, क्याप र ट्रयाक लगाएर बसेका दाहाललाई भेट्दा लाग्छ, दौडिहालौं। अझ बीच-बीचमा उनका दौड अनुभव सुन्दा र दौडिनैका लागि गरेका संघर्षले कताकता भावुक भइन्थ्यो।
तर, उनको जोश, जाँगर र आँटलाई देख्दा लाग्यो, मान्छे उमेरले हैन, सोचले बूढो हुने रहेछ। उनको अनुभव सुनिरहँदा जबसम्म आफ्नो सोचलाई बुढ्यौलीमा ढालिँदैन, तबसम्म बूढो भइँदैन र सधैँ सक्रिय भइरहन सकिन्छ भन्ने अठोट जोकोहीमा हुन्छ।
...
विसं. २०३४ मा इटहरीबाट काठमाडौं आएका दाहाललाई राजधानीको खानपान त्यति पचेन। खाना र पानीसमेत पचाउन नसक्ने स्थिति आएपछि कसरी पचाउन सकिन्छ भन्ने सोचिरहँदा उनको दिमागमा दौडिनुपर्छ भन्ने लाग्यो।
केही दिनको दौडपछि उनलाई खाना नपच्ने समस्या छुमन्तर भयो। दाहालले दौडलाई रोकेनन्। त्यही बेला धावक बैकुण्ठ मानन्धरसँग चिनजान गर्ने मौका पाए। त्यसबेला मानन्धर विश्वका विभिन्न मुलुकमा हुने म्याराथनमा सहभागी भइरहन्थे भने ओलम्पिक र साउथ एसियनलगायत खेलमा गइरहन्थे।
दौडिरहँदा उनले बीकम अध्ययन पूरा गरे। ‘निरन्तर तीन वर्ष दौडिएपछि दौडका लागि राम्रो जुत्ता चाहिन्छ भन्ने थाहा पाएँ,’ दाहाल भन्छन्, ‘दौडिन प्रयोग हुने जुत्ता धेरै महँगो हुने र किन्न सक्ने स्थिति नभएपछि खाली खुट्टै दौडिने गरेको थिएँ।’
पहाडमा खाली खुट्टा हिँड्ने बानी परेकाले काठमाडौंका सडकमा खाली खुट्टा दौडिनु असहज थिएन उनलाई। त्यतिखेर दौडिँदा ठमेलमा सेकेण्ड ह्याण्ड जुत्ता पाइन्थे तर, साइज मिल्दैन थियो।
‘ठूलो जुत्ता लगाएर दौडिनुको सट्टा खाली खुट्टा नै दौडिनु बेस लाग्थ्यो’, विगत सम्झिँदै भन्छन्। दौडिरहँदा सबैभन्दा महत्त्वपूर्ण पैसा नै रहेको भन्ने बुझाइ उनलाई लागिसकेको थियो।
बीकम अध्ययनकै क्रममा उनले केही समय काठमाडौं ट्राभल्समा काम गरे। यो कुरा विसं. २०३९ को हो। आफूले काम गरेको ठाउँमा तलब नदिइरहेको र दाइ (महेश्वर दाहाल)ले पनि बिहे गरेको अवस्थामा जीवन कसरी निर्वाह गर्ने भन्ने सोचले उनलाई निरन्तर पिरोलिरहन्थ्यो।
घरमा बुबाले बीकमसम्म अध्ययन गराउने र पास भएपछि घडी दिने प्रतिबद्धता पूरा भइसकेको थियो। त्यसपछिको जीवन भने आफैँ चलाउनुपर्ने वाचाका कारणले पनि आगामी दिनमा के गर्ने भन्ने तनाव भइरहेकै बेला दाइले सीए अध्ययनका लागि भारत जान गरेको प्रस्ताव तत्कालै स्वीकारे।
उनका दाइ त्यही बेला टाटा स्टिलमा काम गर्थे। दाइले सीए अध्ययन गर्न भारत जान गरेको प्रस्ताव भुइँमा झर्न नपाउँदै स्वीकारेका दाहाल त्यही राती उतातर्फ लागे। विडम्बना, भारतको सिलगुडीमा पुगेपछि उनले लगेर गएका सबै सामान लुटिए। तथापि, केही समयपछि त्यहाँ रहेका नेपालीले फिर्ता दिलाउन सफल भए।
बैकुण्ठ मानन्धरसँगको भेटमा दौडको भुतले रफ्तार लिइरहेका बेला दाइको सीए पढ्न जाने प्रस्तावपछि ब्रेक लाग्यो। दौडमा ब्रेक लागे पनि उनको जीवनले नयाँ मोड लियो।
...
दाहाल सीए अध्ययन गरे पनि उत्तीर्ण हुन सकेनन्। तीन वर्षसम्मको अध्ययन पूरा नभएपछि उनी नेपाल फर्किए। ‘एक किसिमले भन्दा दाइले म सीए भएर फर्किएको हेर्ने सपना पूरा गर्न सकिनँ र त्यत्तिकै फर्किएँ,’ उनले भने ‘सर्टिफिकेटमा पास नभए पनि ज्ञान लिएर आएको हुनाले सन् १९९२ देखि सोल्टी ग्रुपमा आबद्ध हुने अवसर पाएँ।’
त्यतिखेर उनका हाकिम प्रभाकरशमशेर राणा थिए। उनले त्यसबेला ग्रुपबाट सूर्य नेपालको अडिट गर्दै आएका थिए। त्यसपछि सिप्रदीमा अडिट गर्न थाले। सन् १९९६ प्रभाकरशमशेरका छोरा सिद्धार्थ राणाले सिप्रदीमा गराए।
‘मेरो काम गराइबाट प्रभावित भएर हुन सक्छ, सिद्धार्थ राणाले मसँग काम गर्ने हो भनेर प्रस्ताव राखेँ’, दाहालले भने, ‘मलाई पनि वास्तविक धनीको संगत गर्ने मन भएकाले उहाँको प्रस्ताव स्वीकारेर टाटासँगको यात्रा सुरु गरेँ।’
अडिटरको रूपमा सिप्रदीमा प्रवेश गरेका दाहाल कम्पनीको सबैभन्दा उच्च तह प्रमुख कार्यकारी अधिकृत भएर सन् २०१६ मा ५५ वर्षको उमेरमा अवकाश भए। जब जागिरबाट ‘रिटायर्ड’ भए, तब उनले दौड-यात्रा फेरि सुरु गरे। सन् २०१८ बाट पुनः दौड यात्रालाई निरन्तरता दिए। त्यसबेला उनले पुनः बैकुण्ठ मानन्धर, रामकृष्ण महर्जनलगायतलाई भेटेर दौडिने अभियानलाई ऊर्जामा परिणत गरे।
रामकृष्ण उनै हुन्, जसले विश्वका धेरै म्याराथनमा सहभागिता जनाइसकेका छन्। बैकुण्ठ र रामकृष्णसँग दौडिने कसरी र विश्वमा हुने म्याराथनमा सहभागिता जनाउने उपायबारे जानकारी लिए। सोही सन्दर्भमा टाटा मोर्टसका अध्यक्ष एन चन्द्रशेखरन पनि दौडिँदा रहेछ भन्ने थाहा पाए। ‘थाहा पाएपछि म पनि फेरि दौडिन्छु भन्ने अठोट लिएर अगाडि बढें,’ दाहालले भने, ‘सानैदेखिकै बानी समाजका लागि केही नयाँ गर्नुपर्छ र अरूभन्दा फरक हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ। सिप्रदीको सीईओ हुँदा मुलुकभर योगाको लहरै ल्याएँ।’
पछि योगा छाडेर दौडलाई नै प्राथमिकता दिएर अगाडि बढे। दौडसँगै धन आर्जन गर्नु नै उपयुक्त हुन्छ भन्ठाने अगाडि बढे। जबसम्म शारीरिक रूपमा तन्दुरुस्त भइन्छ, तबसम्म सबैले काम दिन्छन् र काम गर्न सकिन्छ भन्ने सोच उनले राखिरहेका थिए र अहिले पनि राखिरहेका छन्।
मुख्य कुरा रिटायर्डपछि पनि शारीरिक र मानसिक रूपमा ‘फिट’ हुनुपर्छ भन्ने उद्देश्य उनले राखेका थिए, जुन अहिले त्यसले सार्थकता पाइरहेको छ। त्यति मात्रै होइन, आफ्नो कर्ममा उत्कृष्ट कार्य पनि गरिरहेका छन्, दाहालले।
‘मेरो फिटनेस र ऊर्जाकै कारण हुन सक्छ, पदबाट रिटायर्ड भए पनि सोही संस्थामा आबद्ध हुन र विश्वभर हुने म्याराथनमा सहभागिता जनाउन पाइरहेको छु,’ दाहालले भने। दाहाल रिटायर्ड भएकै ८ वर्ष पुगेको छ। बाँकी ८ वर्ष आइडिया बेचेर हार्ड वर्कभन्दा स्मार्ट वर्क गरिरहेको उनको अनुभव छ। ‘म अरूलाई आइडिया दिन खप्पिस छु र त्यसैगरी चलिरहेको छु। म ‘लङट्रम चलाख मान्छे हुँ’, उनले भने।
...
व्यायाम र रनिङलाई बिजनेस वा व्यवसायसँग जोडेर हेर्नुपर्ने उनको सुझाव छ। ‘तपाई व्यायाम गर्दा एकदमै टायर्ड हुनुहुन्छ भने त्यो गलत गर्दै हुनुहुन्छ’, उनले भने, ‘व्यायाम गरिसकेपछि ‘इनर्जेटिक फिल’ गर्नुभएन भने तपाईंले कहीँ न कहीँ गडबड गर्नुभयो भन्ने बुझे हुन्छ। व्यायाम गरेपछि पूर्ण रूपमा ताजगी र दैनिक १६/१७ घन्टा काम गर्न सक्छु भन्ने साहस हुनुपर्छ।’ यो जोश आयो भने मात्र राम्रो गरेको हो भन्ने बुझ्नुपर्ने दाहाल बताउँछन्।
‘म २०१८ देखि २०२२ सम्म व्यायाम गर्दा थकित हुन्थें तर अहिले थाक्दिनँ। त्यसका लागि खानपानदेखि हरेक कुरा मिलाएर गर्न सक्नुपर्छ’, उनले भने, ‘सक्रियतालाई मात्र नभई व्यवसायलाई समेत हानि पुर्याउँछ। दौडिने भनेर मात्र हुँदैन। दौडिरहँदा धेरै कुरामा ध्यान दिनुपर्छ। सुरु-सुरुमा ‘वाक रनिङ, वाक रनिङ’ गर्दै अगाडि बढ्नुपर्छ भन्ने थाहा पाएँ।’
खानपानः दाहालको भनाइमा दौडिने नै हो भने खानपानमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। दौड भनेको ‘होलस्टिक’ चीज भएकाले ‘न्युट्रिसन’मा धेरै ध्यान दिनुपर्छ।
‘अहिले मैले दैनिक एक पटक मात्र खाने गरेको छु। अन्य बेला पानीबाहेक अरू केही खाने गरेको छैन। चिनी नहालेको १/२ कफीबाहेक अन्य केही खान्नँ। दौडिरहँदा खाना नपच्ने हुँदा हलुका पदार्थ मात्र खानुपर्छ भन्ने सिकाइ भएकाले त्यहीअनुसार आफूलाई पनि बानी पार्दै लगेको हुँ,’ उनले भने। दाहालको विशेषगरी खानामा उमारेका गेडागुडी, फलफूल र हलुका पदार्थ बढी मात्रामा हुन्छ।
माइन्डसेटः दौडिन आफू पूर्ण रूपमा तयार रहेको र मानसिक रूपमा आफ्ना बानीबेहोरा त्यहीअनुसारले तालिका बनाएर अगाडि बढ्नुपर्ने सुझाव उनको छ।
आफ्नो दिनचर्यालाई सेट गरेर अगाडि बढ्नुपर्छ। दौडिसकेर सावर लिइसकेपछि खाने कफीको मज्जै बेग्लै हुन्छ। यो मज्जा दुनियाँमा कहीँ पनि पाइँदैन। म त्यही मज्जा लिनकै लागि दौडिने गरेको छु।
दौडिरहँदा दुनियाँलाई जित्छु भन्ने अठोट आफूभित्र भइरहन्छ। तर, दौडिन बुद्धि पुर्याउनुपर्छ। सबैले धेरैलाई सोध्ने प्रश्न हो- दिनको कति किलोमिटर दौडिन्छस्? त्यस्तो हुँदै हुँदैन दौडमा किनकि आफ्नो क्षमताअनुसार दौडको तालिका बनाएर दैनिक ५/६ किलोमिटरदेखि विस्तारै बढाउँदै ३० देखि ४० किलोमिटरसम्म पुगिन्छ। त्यही खाले तालिका बनेर दौडिने गरिन्छ।
जब तालिका नै बनाएर दौडिइन्छ, तब रमाइलो हुन्छ र त्यही किसिमको माइन्डसेट तयारी गरिएको हुन्छ। सँगै ‘स्ट्रेस’लाई कम गराउनुपर्छ। जब कुनै कुराको दिमागमा स्ट्रेस लिइन्छ, तबसम्म कुनै पनि यात्रा पूरा गर्न सकिँदैन।
त्यसैले स्ट्रेसलाई लिमिट बनाउन काम गरिहँदा निद्रा लागिहाल्यो भने केही समय सुतिहाल्नुपर्छ। त्यसपछि काम गर्दा पूर्ण रूपमा रिफ्रेस हुन्छ। स्ट्रेसलाई कम गर्न राती न्यूनतम ७ देखि ९ घन्टासम्म सुत्नुपर्छ।
‘म आफैँ सिप्रदीमा हुँदा दिनको ४ घन्टा मात्र सुत्ने गर्थें। सधैंभरि तनाव पनि हुने र धेरै सुत्नु आवश्यक छैन भन्ने बाबा रामदेवको प्रवचनबाट केही प्रभावित भएको थिएा’, उनले भने, ‘तर अहिले म आफैँले के पत्ता लगाएँ भने दैनिक ७ देखि ९ घन्टा सुत्नैपर्दो रहेछ।’
सुत्दा आफ्नो कोठालाई गुफा (सुरुङ) जस्तो बनाएर र पूरै पर्दा लगाएर कहीँबाट पनि उज्यालो छिर्न दिनु हुँदैन। यसले गर्दा गहिरो निद्रा पर्न सहयोग पुग्छ।
कतैबाट उज्यालो छिरे निद्रा बिग्रिने र बेलाबेला ब्युँझिने समस्या आउन सक्छ। यसरी सुतेर उठ्दा दिमागै सकारात्मक हुन्छ। केही न केही नयाँ गर्ने सोच र ऊर्जा पनि त्यहीँ खाले आउँछ। ‘अहिले मेरो सबै आनीबानी डायरीमा टिपेर राखेको छु। त्यहीअनुसार कार्यान्वयन गर्ने गरी तालिकै बनाएको छु,’ उनले भने।
यदि काम गर्दागर्दै दिमागमा कुनै खाले स्ट्रेस आयो वा अल्छी लागे ८/१० पटक पुसअप गरे दिमाग त्यत्तिकै रिफ्रेस हुने दाहालको अनुभव छ। ‘कहिलेकाहीँ त्यत्तिकै रिस उठिहाले केही व्यायाम गर्नुस्, आफैँ ठिक हुन्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको दौडिने दिन हो। अर्थात्, कुनै पनि प्रतिस्पर्धामा भाग लिने दिनलाई अति विशेषका रूपमा हेरिनुपर्छ।’
तपाई कुनै काम गर्दै हुनुहुन्छ भने त्यहाँ लक्ष्य अवश्य लिइएकै हुन्छ र लिनु पनि पर्छ। दौड भनेको जीवनको किताब वा पाठशाला पनि हो। सडकमा दौडिरहँदा विभिन्न खाले बाधा-अड्चन आउँछन्। ‘म आफैं दौडिरहँदा दुई पटक मेरो घुँडामा गाडी चढेको छ। धन्न! सानो गाडी हुँदा केही भएन। तैपनि दौडिरहन्छु,’ उनले भने, ‘जस्तो किसिमको चुनौतीलाई पनि पार गरेर दौडिने लक्ष्य पूरा गर्नुपर्छ।’
मानिसमा जुन किसिमका नकारात्मक सोच आउँछन्, ती सोचलाई दौडले परिवर्तन गराइदिन्छ। दौडिरहँदा सधैं सकारात्मक सोच मात्र आउँछन्। दैनिक १/२ घन्टा एक्लै मात्र दौडिरहँदा पनि छुट्टै आनन्दानुभूति महसुस हुन्छ।
‘रेस डे’ जुन गोलसेट गरिएको हुन्छ, त्यहीअनुसारले आफ्नो यात्रा सुरुआत गरिन्छ। कुनै मुलुकमा म्याराथन हुँदै छ भनेपछि त्यसका लागि पहिलादेखि नै गोलसेट तयार गरिन्छ। त्यही गोलसेटले सुत्नेदेखि उठ्नेसम्मको समयसमेत निर्धारण गरिदिन्छ।
अमेरिकाको सिकागोमा भएको म्याराथुन सकिएलगत्तै टोकियो म्याराथुनका लागि नाम लेखाइसकेको छु। यसले मेरो दैनिकीलाई ट्रयाकमा हिँडाउछ र काममा सधैं ऊर्जा दिइरहन्छ। ‘कुनै व्यक्तिले सफलता हात पार्नु छ भने उसले गोलसेट तयार पारेकै हुनुपर्छ,’ दाहालले भने, ‘गोलसेटअनुसार काम गर्दै गए सफलता मिल्न कुनै समय लाग्दैन र मेरो सफलताको मुख्य सूत्र पनि त्यहीँ हो।’ कुनै गन्तव्यमा पुग्नु छ भने त्यसका लागि मिहिनेत आवश्यक छ। त्यसका लागि तालिकै बनाएर तयार हुँदा सफलता सहजै रूपमा हात पार्न सकिने दाहाल बताउँछन्।
मोबाइल लत हटाउनुस्ः अहिले मान्छेलाई सबैभन्दा अल्छी र व्यस्त बनाउने प्रमुख साधन मोबाइल हो। पहिला-पहिला टेलिभिजन थियो। ‘लामो समय मोबाइलमा व्यस्त हुने र टेलिभिजन हेर्न समय बिताउने गरेको छु। ‘मैले अहिले दैनिक एक पटक मात्र खाना खाँदा पनि समय बचत हुन्छ,’ दाहालले भने, ‘अहिले अधिकांश मानिसले अनावश्यक रूपमा समय खेर फालिरहेका छन्।’
पछिल्लो समय गरिएका अध्ययनअनुसार एक मिनेट मोबाइल हेर्दा २२ मिनेट खेर जान्छ भन्ने निष्कर्ष निकालिएको छ। दौडका गुरु अमेरिकन फ्लोरिस ग्रुमेनले भनेका छन्, ‘म मोबाइल दैनिक दुई पटक मात्र हेर्छु’ दाहालले भने, ‘म पनि उहाँबाट प्रभावित भएर दिनको एकपल्ट दिउँसो ४ बजे मात्र मोबाइल हेर्ने गरेको छु।’
जब मुम्बई म्याराथनमा सहभागिता जनाउन दिइएन...
नेपालभित्रका म्याराथनमा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने स्पर्धामा भाग लिने हुटहुटी जाग्नु स्वभाविकै हो। लक्ष्य पनि विश्वमा आयोजना हुने सबै म्याराथनमा सहभागी हुँदै उपलब्धि हासिल गर्ने नै थियो। त्यहीअनुरूप पहिलो पटक भारतको कोलकातामा २५ किलोमिटरको ‘टाटा स्किल म्याराथन’मा सहभागी भएपछि मुम्बई म्याराथनमा नाम लेखाउन खोज्दा योग्य नभएको भन्दै सहभागिता जनाउन दिइएन।
सहभागिता जनाउन दौडको टाइम स्पिड मागियो। स्ट्यान्डर्ड म्याराथनमा ५/५ किलोमिटरमा ‘टाइम रिड’ गर्ने मेसिन राखिएको हुन्छ। त्यो नहुँदा दाहाललाई त्यहाँ सहभागिता जनाउन दिएन। त्यसपछि उनले अब स्ट्यान्डर्ड म्याराथनमा सहभागिता जनाउनुपर्ने रहेछ।
त्यसलगत्तै सन् २०२३ मा दौडमा सहभागी हुने साथीहरूलाई स्ट्यान्डर्ड म्याराथनमा कसरी सहभागिता जनाउने भन्ने बुझे। दाहालले त्यसबेला थाहा पाए, संसारमा सबैभन्दा महत्त्वपूर्ण म्याराथन ६ वटामा सहभागी हुनु। त्यो भनेको लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टोन र टोकियो। जब उनले यस विषयमा जानकारी पाए। लगत्तै लण्डनमा हुने म्याराथनमा सहभागिता जनाए।
हालसम्म दाहालले लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टोन, सिकागो म्याराथनमा सहभागिता जनाइसकेका छन् भने अब टोकियो मात्र बाँकी रहेको छ। यो भनेको विश्वको सबैभन्दा उत्कृष्ट र ठूलो म्याराथन हो।
यसअघि उनले ५० किलोमिटरको बम्बई टाटा अल्ट्रा म्याराथनसमेत सम्पन्न गरिसकेका छन्। यसरी ९ वटा म्याराथनमा सहभागिता जनाउँदा मात्र ४६० किलोमिटर दौडिइसकेका छन्। अब उनले टोकियो म्याराथनमा पनि तत्कालै सहभागिता जनाउदै छन्। यसले संख्या र दौड किलोमिटर अझै बढ्नेछ।
४६० किलोमिटर ६ वर्षमा दौडिए
सन् २०१८ देखि उनले काठमाडौं म्याराथन दुई पटक आयोजना गरे। म्याराथन ४२ किलोमिटरको हुन्छ। पोखरा म्याराथन एक पटक, एभरेष्ट म्याराथन एक पटक र ४९ किलोमिटरको जुम्ला–रारा अल्ट्रा म्याराथन दौडिइसकेका छन्। म्याराथनको मुख्य उद्देश्य नेपालमा पनि न्यूयोर्क र लन्डन म्याराथन जस्तै ठूलो रेस प्रतियोगिता आयोजना गर्ने थियो। त्यही सोचका साथ काठमाडौं म्याराथन दर्ता गरेर दुई पटक आयोजना पनि गरिएको हो।
दौडिरहने इच्छा
जति दौडिरहन्छु, त्यति नै आफूलाई सधैं फुर्तिलो र ऊर्जाशील भएजस्तो अनुभव दाहाललाई भइरहन्छ। जीवनमा अझै धेरै सफलता हात पार्ने सोच र उद्देश्य उनले लिइरहेका छन्। जीवनमा उनले अझै पनि धेरै सफलता हात पार्ने लक्ष्य राखेका छन्।
त्यसका लागि शरीरलाई सधैं तन्दुरुस्त बनाउन चाहन्छ र दौडिरहन्छन्। अहिले उनी जहाँ कार्यरत छन्, त्यहाँ धेरै राम्रो गर्ने सोच राखेका छन्। अर्को कुरा, आफ्ना दुई छोरालाई योग्य नागरिक हुन सिकाउने मुख्य उद्देश्य लिएका छन्। विश्वका जुनसुकै मुलुक बसेर काम गरे पनि सामाजिक काम भने नेपालमै गर्नुपर्छ भन्ने चाहना उनले पालेका छन्।
टाटा ग्रुपले सिकायो सामाजिक कार्यमा सहभागिता
समाज सेवा गर्न आफू योग्य भएर मात्र हुँदैन, केही न केही गरिरहनुपर्छ। समाज सेवा भनेको खुसीका लागि गरिन्छ। यो प्रेरणा मेरो दाइबाटै सिकेको हुँ। उहाँ टाटा स्टिलमा जोडिनु भएकाले उसकै पैसाबाट मैले सीए पढ्ने अवसर पाएको हुँ। दाइले मलाई पढाएपछि त्यसको पैँचो तिर्न समाज सेवा गर्नुपर्छ भन्ने सोच राखेको हुँ। दाइको गुन तिर्न पैसालाई कहिल्यै पनि तौलिन सकिनँ।
मैले सीए पास गर्न सकिनँ तर धेरै कुरा सिक्ने अवसर पाएँ। काम सुरु गरेपछि मैले पनि अब केही गर्नुपर्छ भनेर भाइलाई चेन्नाईमा सीए पढ्न पठाएँ। भाइलाई पढाउँदा पनि दाइले ममाथि लगाउनुभएको गुन तिर्न सकेजस्तो लागेन। नेपालमा योगा सेन्टर खोल्न धेरै ठाउँमा भवन बनाउन सहयोग गरेँ। अहिले उनले आफ्नै घरमा ११ आना जग्गा किनेर करोडौं रुपैयाँ खर्चिएर योगा सेन्टर सञ्चालन गरिरहेका छन्। अहिले साताको एक पटक मात्र योगा सेन्टरमा जाने गरेको उनी बताउँछन्।
दाइले टाटा मोर्टसमा १७ वर्ष र चौधरी ग्रुपमा केही समय काम गरेपछि २५ वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएको छ। दाइबाटै सिकेको पाठलाई केही मात्रामा भए पनि लागू गर्दै छोरालाई धेरै पैसा कमाउने र त्यसको १० प्रतिशत नेपालमा आफूलाई जुन क्षेत्रमा मन लाग्छ, त्यहाँ सेवा गरिदिनुपर्छ भनिरहेको हुन्छ। समाजसेवा र विनम्रताले आफ्नो व्यावसायिक जीवनमा ठूलो सफलता हात पार्ने पाठ मैले सिकेको छु।
तपाई अंहकार हुनुभएन, समाजसेवा निरन्तर गर्नुभयो र क्षमतावान हुनुभयो भने त्यसले बिजनेसलाई माथि उकास्न धेरै मद्दत गर्छ। टाटा ग्रुपका सञ्चालक उत्कृष्ट चलाख हुन् र उनीहरूले सबै किसिमको सहयोग गरेकै कारण अहिले सफलताको शिखर चुमिरहेका छन्। केही मात्रामा टाटा ग्रुपबाट पनि मैले सिकेको छु र त्यसलाई कार्यान्वयन गरिरहन्छु।
दाहालको दैनिक तालिका
बिहान साढे ४ बजे उठिसकेर करिब डेढ घन्टा योगा गर्छन्। सेडुअलअनुसार ४५ मिनेटदेखि १ घन्टासम्म दौडिन्छन्। सबै व्यायाम गरिसक्दा साढे ८ बजिसक्छ। ९ बजेतिर ब्रेकफास्ट लिएर नियमित काममा फर्किन्छन्। आजभोलि उनी बीढ मात्रामा अध्ययनमै ध्यान दिन्छन्।
अफिसमा काम गरिरहँदा पनि २०/३० मिनेट व्यायाम गरिरहन्छन्। मोबाइल सकेसम्म कम चलाउँछन्। अहिले पनि फोन उठाउने बेला केही समय फेसबुकमा गइहाइले पनि धेरै चलाउन चाहँदैनन्।