क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न नेपाललाई १ खर्ब ५ अर्ब ६१ करोड सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयमा पुस ५ गते आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले हस्ताक्षर गरे। सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण रहेको मन्त्रालयले बताएको छ।
१४० वर्षको विरासत बोकेको व्यावसायिक घराना ज्योति ग्रुप विधिवत् रुपमा टुक्रिएको छ। दाजुभाइबीच लामो समयदेखि अंश विवाद बढेसँगै मंसिर ३० गते ज्योति ग्रुपबाट टुक्रिएको घोषणा गर्दै पद्म ज्योतिले आफ्नै नाममा ‘पद्म ज्योति ग्रुप’ स्थापनाको घोषणा गरेका हुन्। नयाँ ग्रुपको अध्यक्षमा पद्म आफैं बनेका छन्। ज्योति समूह एक शताब्दीअघिदेखि नै तिब्बत व्यवसायमा संलग्न थियो। यसको स्थापना १९४० को दशकमा मणिहर्ष ज्योतिले गरेका हुन्। ज्योति समूहमा पद्य ज्योति अध्यक्ष र रुप ज्योति उपाध्यक्ष थिए।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ। प्रधानविरुद्ध मंसिर ३० मा २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको जानकारी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले दिएका हुन्। प्रधानले आफू कम्पनी अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको धितोपत्र बोर्डले निष्कर्ष निकालेको छ।
२०७७ मा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिका तहमा पाँच, १० र १५ शय्या अस्पताल निर्माण घोषणा गरे पनि हालसम्म जम्मा ९ स्थानीय तहमा मात्र निर्माण सम्पन्न भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयले पुस ७ गते सार्वजनिक गरेको विवरणअनुसार हाल ४२५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइरहेका छन् भने बाँकी २१९ स्थानीय तहमा अस्पताल निर्माण कहिले थालिने हो, त्यो अझै निश्चित छैन।
सरकारले शताब्दी लामो नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोड्दै सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन निर्माण अनुमति दिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ जलविद्युत् आयोजनाबीच पुस २ गते प्रसारण लाइन निर्माणको सम्झौता भएको हो। सार्वजनिक/निजी साझेदारीमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरेको मध्य तमोर–ढुंगेसाँगु २२० केभी प्रसारण लाइन निजी क्षेत्रको संलग्नतामा निर्माण हुने गरी आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।
कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार जीबी राईसहितका १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ। सहकारी ठगीमा संलग्नबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल्न सरकारी वकिलको कार्यालयलाई प्रहरी प्रतिवेदनले सुझाएपछि पुस ५ गते अदालतमा मुद्दा दायर गरिएको हो। सोही प्रकरणमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित पाँच जनाविरुद्ध आइतबार मात्रै मुद्दा गरिने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन्।
यो साता सेयर बजारमा ८५.४७ अंकको गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन अर्थात् मंसिर २७ गते २६८२.२९ बिन्दुमा रहेको सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको चार कारोबार दिनमा एक दिन बढेर तीन दिन घट्दा ८५.४७ अंकको गिरावटका साथ २५९६.८२ बिन्दुमा रोकिएको हो। गत साता पनि नेप्सेमा ५२ अंकले घटेको थियो। यो साता सेयर बजारमा कुल १८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता नेप्सेमा कुल २८ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सर्वोच्च अदालतले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँलको इजलासले पुस ५ मा जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) को प्रतिकूल भएको ठहर गरेको हो। संविधानअनुसार नै सरकारले सरकारी कामकाजको भाषामा सशस्त्र संघर्ष शब्द प्रयोग गर्दै आएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि २०७९ माघ २९ को मन्त्रिपरिषद् बैठकले फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो। त्यसविरुद्ध परेको रिटमा जनयुद्ध’ मनाउने सरकारको निर्णय सर्वोच्चले बदर गरिदिएको थियो।