काठमाडौँ। रूसले क्यान्सर खोप बनेको घोषणापछि विश्वभर क्यान्सर रोगीमा आशा बलियो बनेको छ। रुसको स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक एन्ड्रे काप्रिनका अनुसार क्यान्सर भ्याक्सिन विभिन्न बिरामीका लागि फरक-फरक तरिकाले बनाइनेछ।
यसको मूल्य करिब ४ लाख रुपैयाँ हुनेछ। रुसी नागरिकले यो खोप नि:शुल्क पाउनेछन्। यद्यपि, यो भ्याक्सिन बाँकी विश्वमा कहिले उपलब्ध हुने हो, यसबारे काप्रिनले कुनै जानकारी दिएका छैनन्।
काप्रिनले प्रिक्लिनिकल ट्रायलमा यो खोप प्रभावकारी साबित भएको दाबी गरेका छन्। नतिजाको रूपमा ट्यूमरको वृद्धि सुस्त भएको छ र यो ८० प्रतिशतले घटेको समाचारमा जनाइएको छ। यो खोप बिरामीको ट्युमर कोशिकाबाट प्राप्त डाटाका आधारमा भ्याक्सिनले कसरी काम गर्छ भन्ने विशेष कार्यक्रम प्रयोग गरी डिजाइन गरिएको हो।
रुसको संघीय मेडिकल बायोलोजिकल एजेन्सीकी प्रमुख भेरोनिका स्वार्टस्कोवाले मेलानोमा (छालाको क्यान्सर)को खोपले कसरी काम गर्छ भन्ने बताएकी छन्। क्यान्सर कोशिकाको नमुना बिरामीबाट लिइन्छ।
त्यसपछि वैज्ञानिकले यो ट्युमरको जीन क्रमबद्ध गर्नेछन्। यसमार्फत क्यान्सर कोशिकामा बनेको प्रोटिन पहिचान गरिन्छ। प्रोटिन पहिचान भएपछि एक व्यक्तिगत एमआरएनए खोप बनाइन्छ।
अमेरिकी राज्य फ्लोरिडाका क्यान्सर विशेषज्ञ इलियास सयुरका अनुसार यस प्रविधिको प्रयोग गरेर बनाइएको खोपले ४८ घण्टाभन्दा कम समयमा मस्तिष्कको क्यान्सरमा प्रभाव देखाएको छ।
रूसी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजिकल सेन्टरको वेबसाइट अनुसार क्यान्सरसँग लड्ने दुई तरिका छन्। तीमध्ये पहिलो एमआरएनए भ्याक्सिन र दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हुन्। एजेन्सी