काठमाडौं। कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहितका १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गरिने भएको छ। सोही प्रकरणमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित पाँच जनाविरुद्ध आइतबार मात्रै मुद्दा गरिने भएको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तविरुद्ध अभियोगपत्रसहित आजै जिल्ला अदालतमा दर्ता गर्न लागिएको कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पत्रकारलाई बताइन्। ‘थप अभियोग जिल्ला अदालतमा दर्ता गर्न हिँड्यौं। बाँकी पूरक अभियोग आइतबार लैजान्छौं,’ उनले भनिन्।
सरकारी वकिलको कार्यालयले यसअघि नै सूर्यदर्शन सहकारी ठगी अभियोगमा १९ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।
पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्य शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समिति संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ।
उनीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार थप अभियोग पेस गर्ने तयारी सरकारी वकिलको छ। यसअघि सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका रविसहित ५ जनाविरुद्धको पूरक अभियोग आइतबार मात्र जिल्ला अदालतमा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।
कानुनअनुसार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार आज रविको चार दिने म्याद सकिएकाले अदालत उपस्थित गराइएको छ।
सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगिएकाे थियो। पूर्वडिआइजी छविलाललाई असोज ६ गते पक्राउ गरिएको थियो।
सूर्यदर्शन सहकारी ठगीमा हाल ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्। सहकारी ठगीका मुख्य योजनाकार जीबीसहित ३७ जना फरार रहेको प्रहरीले बताएको छ। ठगीमा संलग्नबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल्न पनि सरकारी वकिलको कार्यालयलाई प्रहरी प्रतिवेदनले सुझाएको छ।