काठमाडौं। २०७७ मा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रव्यापी टेलिभिजन सम्बोधनमा गाउँपालिका तहमा पाँच, १० र १५ शय्या अस्पताल निर्माण गर्ने तामझामसहितको उद्घोष गरेका थिए। तर, हालसम्म तीन वर्षअघिको निर्णय १ प्रतिशत पनि पूरा भएको देखिएको छैन।
तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको सरकारले हालसम्म जम्मा ९ स्थानीय तहमा मात्र निर्माण सम्पन्न भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार हाल ४२५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइरहेको छ।
त्यतिबेला प्रधानमन्त्री ओलीले गुणस्तरीय स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गर्न भन्दै केही थान आधारभूत अस्पताल निर्माणको शिलान्याससमेत गरेका थिए।
तर, चार वर्ष बित्नै लाग्यो। ओलीले घोषणा गरेका आधारभूत अस्पताल ७ वटै प्रदेशका पालिकामा निर्माण योजना कागजमै सीमित देखिएका छन्। २०७८ मंसिर ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय सरकारलाई पत्र लेखेर आधारभूत अस्पताल निर्माणमा सहजीकरण गरिदिनसमेत आग्रह गरेको थियो।
प्रधानमन्त्री ओलीको घोषणालगत्तै संघीय मामिला र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै चिठ्ठी लेखेर स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न भनिएको थियो।
त्यसपछिका वर्षमा अस्पताल निर्माणले गति लिएन। कतै बने, कतै जग्गा विवाद, कतै राजनीतिक दलका स्थानीय नेताबीचको कमिसन विवादले स्थानीय अस्पताल निर्माण सुस्त छ। अझ पछिल्लो समय सरकारले स्थानीय सरकारलाई दिने अनुदान घटाएर पठाएपछि अस्पताल निर्माणका जग हालिएका ठाउँसमेत झाडी हुन थालेका छन्।
सरकारले पहिलो चरणमा ३९६ र दोस्रो चरणमा २६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो।
८० पालिकामा पाँच शय्या, १५४ पालिकामा १० शय्या तथा ४२३ पालिकामा १५ शय्याका अस्पताल निर्माण घोषणा सरकारले गरेको थियो।
पाँच शय्याका लागि ७ करोड ११ लाख ९८ हजार, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको सरकारी तथ्यांक छ।
मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार हालसम्म ६५३ मध्ये ४३४ स्थानमा अस्पताल बन्ने पक्कापक्की भएको छ। बाँकी २१९ स्थानीय तहमा अस्पताल निर्माण कहिले थालिने हो, त्यो अझै निश्चित छैन।
‘४७ स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा ४ अर्ब ४३ करोड पठाइसकेका छौं’, अधिकृत खड्काले भने।
खड्काका अनुसार ३९६ स्थानीय तहमा निर्माण स्रोत सुनिश्चित गरिसकिएको र २६१ पालिकामा अस्पताल निर्माण स्रोत अझै सुनिश्चित हुन सकेको छैन। स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैंले अस्पताल बनाइरहेको खड्काको दाबी छ।
उनका अनुसार अहिलेसम्म ३९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र २६१ पलिकाका लागि ३ अर्ब २० करोड विनियोजन गरिएको छ। तर, प्रतिफल निरासलाग्दो छ।