काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा उपस्थित नहुने चिकित्सकलाई कारवाही गर्न निर्देशन दिएका छन्। मन्त्रीको निर्देशन पालना गर्दै मन्त्रालयले सम्बन्धित निकाय र अस्पताललाई पत्रचार गरेको हो।
मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई ‘हेल्लो स्वास्थ्य १११५’ मा चिकित्सक कार्यालय समयमा उपस्थित नहुने र त्यसको सास्ती बिरामीले खेप्नु परेको गुनासो धेरै परेपछि मन्त्री पौडेलले कारवाहीका लागि मातहातका अधिकारीलाई निर्देशन दिएका हुन्।
गुनासो सुनुवाइ एकाईमा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न र तत्काल विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्री पौडेलको भनाइ थियो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए।
‘कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो,’ उनले भने, ‘यसलाई कडाईका साथ लागु गर्न स्मरण गराएका छौँ, अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ।’
यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न पत्रचार गरिसकेको छ। मन्त्रालयअर्न्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको हो।
कार्यालय समयमा बाहिर जानु परे लग बुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ। मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत भनेको छ।