काठमाडौँ। लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदानमा उपलब्ध गराएको विद्युतीय सवारी साधनको आजदेखि परीक्षण सुरु भएको छ। यसअघि कानूनी समस्या देखाउँदै सञ्चालन हुन सकेको थिएन्। जसमा आज दुई वटा बस सञ्चालन भएको हो।
एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणमा सञ्चालन गरिएको कोषले जनाएको छ।
अुनदान सहयोगमा ५ बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई ५ वर्षअघि अर्थात विं.सं. २०७७ मा हस्तान्तरण गरेको थियो।
पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बर प्लेटमा उक्त सवारी साधन हस्तान्तरण गरेको थियो। जसका कारण सञ्चालनमा समस्या भएको थियो।
प्रतिनिधिसभाका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, प्रदेशका सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरेका थिए।
उक्त सवारी साधन बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा सञ्चालन हुने जनाइएको छ। बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्ने छन्।
कोषका उपाध्यक्ष डा. लामाले यसअघि कानूनी द्विविधाका कारण नियमित बस सञ्चालन गर्न नसकेको बताउँदै अब पनि कानून देखाएर रोक्ने काम नगर्न प्रशासनलाई आग्रह गरे।