काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले एक वर्षअघि गरेको विधान संशोधन अझै स्वीकृत हुन सकेको छैन। नाडा पदाधिकारीमा भागबन्डा मिलाउनकै लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्दै विधान संशोधन गरिएको थियो।
विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको थियो। एक वर्षअघि नै विधान संशोधन प्रक्रिया अस्वीकार गरे पनि हालसम्म नाडामा वरिष्ठ उपाध्यक्षको रुपमा आकाश गोल्छा रहँदै आएका छन्। विधानगत रुपमा पदमा रहन नमिले पनि आपसी सहमतिमा भन्दै वरिष्ठ उपाध्यक्षकै हैसियतमा उनले काम–कारबाही गर्दै आएका छन्।
मंसिर ३० मा नाडाले ४८औं वार्षिक साधारणसभासमेत गरिसकेको छ। नाडा महासचिव सुरेन्द्र उप्रेतीले विधान संशोधनका लागि प्रशासनले उठाएको प्रश्नको जवाफ पठाइसकिएकाले केही समयभित्रै पारित भएर आउने दाबी गरे।
‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले असहमति जनाएका विषय लिखित रुपमा पठाइसकेका छौं,’ महासचिव उप्रेतीले भने, ‘अबको केही समयभित्रै पारित भएर आउँछ।’ विधान संशोधनका लागि साधारणसभाले पारित गरेर प्रशासनमा पठाइसकेको अवस्थामा स्वीकृति नहुने कुरा हुँदैन’, महासचिव उप्रेतीले भने।
एक वर्षदेखि विधान संशोधन प्रक्रिया नटुंगिएको र अर्को अधिवेशन आउन लागेको भन्दै केही सदस्यले ढिलासुस्ती विषयमा प्रश्न उठाउँदै आएका छन्। साधारणसभामा सहभागी केही प्रतिनिधिले अवैधानिक रुपमा वरिष्ठ उपाध्यक्ष पद रहेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएको एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए। ती सदस्यले भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले संशोधन प्रक्रियालाई स्वीकृति नदिएसम्म वरिष्ठ उपाध्यक्ष र बाँकी सदस्य वैधानिक हुँदैनन्।’
साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित सदस्य संख्यासमेत बढाएको थियो। नाडा विधानअनुसार ९ देखि १७ जनाको कार्यसमिति सदस्य हुने भनिए पनि भागबन्डाकै लागि २७ सदस्यीय समिति बनाएको थियो।
२०८० मंसिर ३० मा नाडाको ४७औं साधारणसभाबाट सर्वसम्मत अध्यक्षमा करण चौधरी र वरिष्ठ उपाध्यक्षमा आकाशसहितका पदाधिकारी चयन भएका थिए।