काठमाडौँ। कर्णाली याक्समाथि रोचक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुगेको छ। योसँगै जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्ने भएको छ। दुई टोलीबीच तेस्रो भिडन्त हुने निश्चित भएको छ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेटको क्षतिमा जित निकालेको हो। जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन जोडे। धरमराएको ब्याटिङ लय उनले उकासेसँगै टोली जिततर्फ लम्किएको थियो।
यसपछि १९औं ओभरमा १४ रन लिँदै जनकपुरले फाइनल यात्रा तय गरेको हो। शेर मल्लले १० बलमा अविजित १६ रन बनाए। बलिङतर्फ कर्णालीका विपिन खत्रीले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रनको योगदान दिए।
बलिङमा ललित राजवंशी, जिमी निशम र मोहम्मद मोहसिनले २-२, हर्ष थाकर र शेर मल्लले १-१ विकेट लिए।
जनकपुरसँग पराजित कर्णाली पहिलो एनपिएलमा तेस्रो भएको छ। योसँगै टोलीले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलको पुरस्कार घोषणा गरेको थियो।
क्यानले मंगलबार सूचना जारी गर्दै एनपिएलको पुरस्कार राशि घोषणा गरेको छ। यसमा विजेता टोलीले १ करोड १० लाख, दोस्रो हुनेले ५१ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने जनाएको थियो।
चौथो हुने टोलीले १५ लाख पाउनेछ। जसअनुसार चितवन राइनोजले चौथो पुरस्कार पाउने भएको हाे।