काठमाडौं। असोज बाढीले मुलुकका ठूलो विद्युत् आयोजनामा क्षति पुर्याएसँगै उद्योगमा लोडसेडिङ सुरु भएका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन्।
नेपालमा बर्खामास बिजुली पर्याप्त उत्पादन हुने गरे पनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने बाध्यता हटाउने उपायका विषयमा मन्त्री खड्काले प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन्।
मन्त्री खड्काले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायतसँग सम्भावित लाेडसेडिङ हुन नदिने उपायबारे छलफल गरेकाे बताइन्छ।
उनले भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारणमाथि विज्ञहरुको राय लिएका थिए। विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सबलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा पूर्वकार्यकारी निर्देशकसँग सुझाव मागेको मन्त्री खड्काको सचिवालयले जनाएको छ।
ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्यानुभवमा सँगालेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन्।
मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासबारे मन्त्रीले जानकारी लिनुभएको र आगामी दिनमा गर्न सकिने विकासबारे सुझाव मागेको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।
छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिए।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान सुझाएका थिए। उनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो, हुन नसकेको बताएका थिए।
पछिल्लाे समय भारतले बिजुली आयातमा अड्काे थाप्नु र असाेज बाढीले क्षति पुगेका आयाेजना पुनर्निर्माण नसकिँदा मुलुकमा लाेडसेडिङ हुन सक्ने अाकलन भइरहेका बेला मन्त्री खड्काले राज्यमन्त्री पूर्णबहादुर तामाङसहित प्राधिकरणका पूर्वनेतृत्वसँग छलफल चलाएकाे बुझिएको छ।