काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन्। उनले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका थिए।
सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन्।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न कर्मचारीको ध्यानाकर्षण गराएक थिए। पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि उनले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुने रहेछ। उनले भने, ‘तपाईंहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनु पर्छ।’
मन्त्री पौडेललाई कर्मचारीले श्रोत अभाव भएको गुनासो गरेपछि केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकालेका थिए। यस क्रममा उनले सार्वजनिक संस्थानलाई पुँजीगत सहयोग गर्न सकिने भए पनि तलब खानका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे।
‘तपाईंहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौँ,’ उनले भने, ‘तर, उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्नँ।’
उनले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दा नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर विकल्प खोज्न निर्देशन दिए।