काठमाडौँ। अटो ब्राण्डबीच हरेक वर्ष नयाँ र आकर्षक फिचरका सवारी साधन सार्वजनिक गर्ने होड चल्ने गर्दछ। ग्राहकको रूचीमा पर्ने गाडी बजारमा ल्याएर व्यापारलाई मजबुद बनाउँदै आफ्नो ब्राण्डको ‘लिगेसी’लाई कायम राख्ने प्रयासमा हरेक ब्राण्ड हुन्छन्।
प्रायःजसो हरेक अटो ब्राण्डले नयाँ गाडी सार्वजनिक गर्दै आएका छन्। बजारमा आउने नयाँ ब्राण्ड र आधुनिक फिचरयुक्त गाडीका कारण विश्व अटो बजार रोचक बन्ने गरेको छ।
विश्व बजार सन् २०२४ लाई बिदाई गरेर नयाँ वर्षको स्वागत गर्न तयार भएको छ। सन् २०२५ लाई अटो बजारसँग जोडेर हेर्ने हो भने विद्युतीय सवारी साधन (ईभी) पारखीका लागि विशेष हुने देखिन्छ। किफायति मूल्यका, महँगा, विश्व अटो ब्राण्डमा वर्षौंदेखि स्थापित तथा नयाँ ब्राण्डका नयाँ गाडी २०२५ सँगै आउन तयार भएर बसेका छन्।
इन्धन सवारी साधन (आइसीई इञ्जिन)का गाडी मात्र बिक्री गर्दै आएका ब्राण्डले सन् २०२५ लाई लक्षित गरी ईभीका मोडल ल्याउने तयारी गरिरहेका छन्। नयाँ वर्षको सुरुवातसँगै छिमेकी मुलुक भारतमा अटो एक्स्पो आयोजना हुँदैछ।
जहाँ विश्वका प्रख्यात ब्राण्डले नयाँ गाडी सार्वजनिक गर्दै नयाँ वर्षको सुखद् सुरुवात गर्ने योजना बनाएका छन्। सन् २०२५ मा करिब दर्जन बढी नयाँ मोडलका गाडी सार्वजनिक हुने निर्क्यौल भइसकेको छ। जसमा अधिकांश ईभी छन्।
यस्ता छन् नयाँ वर्षमा सार्वजनिक हुने गाडी
हुण्डाई क्रेटा ईभी
हुण्डाईको बहुप्रतिक्षित विद्युतीय एसयुभी क्रेटा आगामी जनवरी १७ तारिखमा लञ्च हुँदै छ। भारत मोबिलिटी एक्स्पोको पहिलो दिनमा क्रेटा ईभी लञ्च हुने हुण्डाई इण्डियाले जनाएको हो। हुण्डाई क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री रहने छ।
उक्त ब्याट्री नयाँ जेनेरेशन कोनाबाट लिइएको हो। साथै, यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ। क्रेटा ईभी सिंगल र डुअल मोटर अप्सनमा उपलब्ध हुनेछ। क्रेटा ईभी एक पटक चार्ज गरेपछि ५५० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ।
सुजुकी ईभी एक्स
२०२५ को जनवरीमा सुजुकीले आफ्नो पहिलो विद्युतीय गाडी ईभी एक्स सार्वजनिक गर्ने तयारी गरेको छ। सुजुकीले भारत मोबिलिटी एक्स्पो २०२५ मा सुजुकी ईभी एक्स प्रदर्शन गर्ने जनाएको छ। ईभी एक्समा ६० किलोवाटको ब्याट्री दिइने छ। यस गाडीले ५५० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ।
टोयोटा अर्वान क्रुजर
टोयोटाको भारतमा उत्पादन हुने पहिलो विद्युतीय गाडी अर्वान क्रुजर २०२५ मा आउने तयारी भएको छ। टोयोटाको अर्वान क्रुजर अल ह्वील ड्राइभ भर्सनमा ६१ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा १३५ किलोवाटको मोटर जडान गरिएको छ। यसको अधिकतम टर्क ३०० एनएम रहने छ।
अन्य दुई भेरियण्ट फ्रण्ट ह्वील ड्राइभमा आउने कम्पनीले जनाएको छ। सर्ट रेञ्ज भर्सनमा ४९ किलोवाट आवरको ब्याट्री उपलब्ध हुनेछ। यसमा १०६ किलोवाटको मोटर जडान गरिने छ। त्यसले १८९ एनएम टर्क प्रदान गर्छ। साथै, अर्को लङ रेञ्ज भेरियण्टमा ६१ किलोवाट आवरको ब्याट्री र १२८ किलोवाटको मोटर पाउन सकिन्छ। यसको टर्क पनि १८९ एनएम हुने कम्पनीले जनाएको छ।
स्कोडा कम्प्याक्ट एसयूभी
कम्प्याक्ट एसयूभी सेगमेण्टमा स्कोडाले आफ्नो नयाँ एसयूभी २०२५ अटो एक्सपोमा लञ्च गर्ने तयारी गरिरहेको छ। सो एसयूभीमा १ लिटर टीएसआई इञ्जिन प्रदान गरिने छ। जसले अधिकतम ११५ बीएचपीको पावर र १७८ एनएमको टर्क जेनेरेट गर्न सक्षम हुनेछ।
टाटा सिरिया
आगामी जनवरीमा हुने भारत इमोविलिटी एक्स्पोमा सिरिया मोडल प्रोडक्सन भर्सन सार्वजनिक गर्ने योजना टाटाले बनाएको छ। टाटाको ‘एडाप्टीभ टेक फर्वाड लाइफ स्टाइल (एट्लास)’ प्लेटफर्ममा सिरिया ईभी बन्ने छ।
टाटाको नयाँ प्लेटफर्ममा एसयूभी, एमपीभी र सेडान गाडी बन्ने कम्पनीको भनाइ छ। टाटा सिरियामा रहने मोटर तथा ब्याट्री साइजको बारेमा कुनै पनि जानकारी बाहिर आएको छैन।
टाटा ह्यारियर ईभी
टाटाले ह्यारियरको नयाँ ईभी पनि २०२५ मा लञ्च गर्ने योजना बनाएको छ। सो एसयूभीको इण्टेरियरमा अपडेट गरिएको आईसीई संस्करण जस्तै ड्यासबोर्ड लेआउट हुनेछ। ह्यारियर ईभीमा ६० किलोवाटको ब्याट्री रहने छ। जसले एक पटकको चार्जमा ५०० किलोमिटरको रेञ्ज दिने अनुमान गरिएको छ।
यसमा १२.३ इञ्चको इन्फोटेनमेण्ट सिस्टम, वायरलेस चार्जर, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र ड्राइभ मोडका लागि रोटरी डायल समावेश हुनेछ।
आईसीई संस्करण जस्तै, इलेक्ट्रिक ह्यारियरमा ठूलो प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रयुमेण्ट क्लस्टर, ब्लाइण्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा र लेभल २ एडास हुनेछ।
टाटा सफारी ईभी
टाटाले सफारी ईभी पनि लञ्च गर्न हुने तयारीमा छ। यसको डिजाइन पनि आईसीई मोडेल जस्तै हुनेछ। सफारी ईभीमा १२.३ इञ्चको टचस्क्रिन इन्फोटेनमेण्ट सिस्टम, १०.२५ इञ्चको डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन एसी, भेण्टिलेटेड फ्रण्ट र रियर सिट, प्यानोरामिक सनरुफ जस्ता फिचर हुनेछ।
साथै ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कण्ट्रोल र एडास जस्ता सेफ्टी फिचर हुनेछ। टाटा सफारीको इलेक्ट्रिक भर्सन टाटाको नयाँ एक्टि डट ईभी प्लेटफर्ममा आधारित हुनेछ। यसले करिब ५०० किलोमिटरको रेञ्ज प्रदान गर्ने छ।
किया ईभी ५
किया मोटर्सले किया यसयूभी ईभी ५ २०२५ मा सार्वजनिक गर्ने तयारी गरेको छ। सार्वजनिक भएको विवरणअनुसार सो इलेक्ट्रिक एसयूभी ई-जीएमपी प्लेटफर्मममा निर्माण हुनेछ। जसको लुक्स र डिजाइन किया ९ बाट प्रेरित हुनेछ।
बक्सी डिजाइनमा आउने सो एसयूभीको पछाडि सिटलाई पूरै फोल्ड गरेर बेडका रुपमा प्रयोग गर्न सकिन्छ। साथै यसमा ४.१ लिटर क्षमताको रेफ्रिजेरेटर, १२.३ इञ्चको टचस्क्रिन इन्फोटेन्मेण्ट सिस्टम र ५ इञ्चको क्लाइमेट कन्ट्रोल डिस्प्ले उपलब्ध हुनेछ।
सो एसयूभी स्ट्याण्डर्ड, लङ रेञ्ज र लङ रेञ्ज अल ह्विल ड्राइभ गरी कूल तीन भेरिएण्टमा उपलब्ध हुने जनाइएको छ। जसमध्ये बेस भेरिएण्टमा ६४ किलोवाट आवरको ब्याट्री जडान गरिने छ भने २१५ बीएचपी क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। यो भेरिएण्टले सिंगल चार्जमा ५३० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ।
यसैगरी, लङ रेञ्जमा ८८ किलोवाट आवारको ब्याट्री र २१५ बीएचपी क्षमताको मोटर जडान गरिने छ। यसले सिंगल चार्जमा ७२० किलोमिटर रेञ्ज दिने दाबी कम्पनीले गरेको छ। अर्को अल ह्विल ड्राइभ भेरिएन्टमा भने दुई वटा इलेक्ट्रिक मोटर उपलब्ध हुनेछ। यो भेरिएण्टले सिंगल चार्जमा ६५० किलोमिटर रेञ्ज दिने बताइएको छ।
एवोन युटी
चीनमा एवोन युटी २०२५ जनवरीबाट बिक्री सुरु हुने कम्पनीले जनाएको छ। ह्याचब्याक सेग्मेण्टको एवोन युटी रेञ्जका कारण चर्चामा रहेको मोडल हो। एवोन युटीको लम्बाई ४२७० एमएम, चौडाई १८५० एमएम र उचाई १५७५ एमएम छ। यसमा २७५० एमएम लामो ह्वीलवेस रहने छ। १७ इञ्चको अलोय ह्वील, १०० किलोवाट क्षमताको मोटर रहने कारको टप स्पीड १५० किलोमिटर प्रतिघण्टा हुनेछ।
यसमा रहने ब्याट्रीको साइजको विषयमा जानकारी प्राप्त भएको छैन। तर, यसमा एलएफपी ब्याट्री रहने पक्का छ। कम्पनीले यसमा लामो ह्वीलवेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन दिएको छ। निकै आकर्षक फ्रण्ट ग्रिलमा देखिएको एवोन युटीमा अगाडिको दायाँ फेण्डरमा चार्जिङ पोर्ट दिएको देखिन्छ।
साथै, हेडलाइट र फगलाइट पनि यसमा पृथक देखिन्छ। एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बिनेसन उत्कृष्ट छ।
ठूलो एयर इण्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बिनेसन हो। पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ। यसको इण्टेरियरमा ठूलो इन्फोटेण्टमेण्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेण्ट क्लष्टर दिएको छ।
ल्याण्ड रोभर
आगामी वर्ष विश्व बजारमा आउने नयाँ इलेक्ट्रीक रेञ्ज रोभरको प्रोटोटाइप अहिले मरुभूमिमा परीक्षण भइरहेको छ। रेञ्ज रोभरलाई विश्वभर सबैभन्दा आरामदायी र जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट पर्फर्मेन्स गर्ने एसयूभीको रूपमा चिनिन्छ।
कम्पनीले इण्टेलिजेण्ट टर्क मेनेजमेण्ट सिस्टम दिएर यसलाई ल्याउने जनाएको छ। यसको सहयोगले ‘इण्डिभिजुअल इलेक्ट्रिक ड्राइभ कण्ट्रोल युनिट’ले ह्वील स्लीप मेनेजमेण्टको काम १०० मिलिसेकेण्डभित्रै गर्ने छ। यसमा रहने ब्याट्रीको साइज र मोटर पावरका बारेमा कुनै जानकारी बाहिर आएको छैन।