काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विगत २ महिनादेखि कास्की प्रहरी हिरासतमा छन्। यस अवधिमा प्रहरीले पाँच जिल्लामा अनुसन्धान गर्नका लागि लगिएको थियो।
पोखराको सूर्य दर्शनसहित विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेको फोटो सार्वजनिक भएसँगै चर्चा भएको छ। प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो सार्वजनिक भएसँगै रास्वपाका नेता कार्यकर्ताहरू प्रहरीमाथि खनिए।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटो रविकै भएको बताए। यस क्रममा ‘सामाजिक सञ्जालमा पाएर’ आफूले फेसबुकमा फोटो राखेको बताएका छन्।
‘अन्याय गर्नुको पनि हद हुन्छ, रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला,’ उनले भनेका छन्, ‘अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य?’
रास्वपाका नेता तथा कार्यकर्ता प्रहरीमाथि खनिएपछि रविका शुभचिन्तक डा. निकोलस भुसालले आफूले फोटो खिचेको भन्दै माफी मागेका छन्। उनले रविको फोटो खिच्नुमा कुनै प्रकारको खराब नियत नभएको उल्लेख गरेका छन्।
‘यो फोटो रियल हो, मैले नै खिचेको हो, गल्ती भएको हो माफी चाहन्छु, मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध, म स्वस्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गको थिएँ।’
उनले आफू प्रहरी हिरासतमा रहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न जाँदा फोटो खिचेको स्वीकारेका हुन्। यता, प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।