काठमाडौँ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरे। ३५० बोट सुन्तला लगाएका उनले गत वर्ष दुई लाख ५० हजारको सुन्तला बिक्री गरेका थिए। उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए।
दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुन थालेको थियो। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला लागेका हुन्। सुन्तला खेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका छन्।
समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट ८० लाखको सुन्तला निकासी भएको बताएका थिए। यस वर्ष एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए।
‘यस वर्ष सुन्तलाको उत्पादन अति नै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्,’ पाइजाले भने।
दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन्। गाउँमा मात्रै होइन, जिल्लाभर सुन्तला उत्पादन बढेको छ। किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन्। अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनले सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ।
बेनी नगरपालिका ३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए। ‘सुन्तला टिप्न व्यवसायी बगैँचामा आइसकेका छन्, उत्पादन राम्रो छ, गत वर्षको तुलनामा दोब्बरजस्तै फल लागेको छ, उत्पादन भएको सुन्तलाको बजारको अभाव छैन,’ उनले भने।
जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढल बजारमा निकासी हुने थालेको छ। गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।
जिल्लामा यस वर्ष सुन्तला उत्पादन बढेको र क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरी विवरण संकलन भइरहेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए।
म्याग्दीमा ८१० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा ५२० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। गत वर्ष जिल्लाबाट तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।