काठमाडौं। मुलुकभर पाँचतारे होटल बनाउने लर्को नै सुरु भएको छ। पर्यटकको आगामण बढ्दै जादाँ व्यवसायीहरुले पाँचतारे होटल निर्माणमा लगानी बढाउन थालेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवंम सोल्टी होटलका सञ्चालक रविभक्त श्रेष्ठले पाँचतारे होटल निर्माणको लर्कोले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश फैलिएको बताउँछन्। ‘जति होटल थपियो त्यतिनै पर्यटकको संख्या बढ्दै जान्छ,’ पूर्व अध्यक्ष श्रेष्ठले भने, ‘लगानी गर्दा प्रतिफलको हिसाव गरेर गरेको हुनाले अर्थतन्त्र चलायमानमा थप सहयोग पुग्छ।’
तर, बजारलाई राम्रोसँग अध्ययन नगरी लगानी गर्दा अहिले सिमेन्ट र स्टिल उद्योग जुन अवस्था खेप्नुपरेको छ, त्यो होटल उद्योग ब्यहोर्नु नपर्ला भन्ने देखिँदैन। जुन गतिमा पर्यटक नेपाल आइरहेका छन्, त्यसले होटलको बाटो सिमेन्ट र स्टिलकै हुन सक्ने श्रेष्ठको अनुमान छ। त्यही भएर यो क्षेत्रमा आउँदा अध्ययन अनिवार्य गर्न श्रेष्ठले लगानीकर्तालाई सुझाएका हुन्।
हाल मुलुकभर २५ वटा पाँचतारे होटल सञ्चालनमा रहेको छ। योसँगै २०२५ भित्रमा आधादर्जन भन्दा बढी पाँचतारे होटल सञ्चालनको तयारीमा रहेको छ। होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले पछिल्लो समय होटल निर्माणमा लहरनै छाएको बताउछन्। ‘पर्यटकको आगामणलाई ध्यानमा राखी मुलुकभर सुविधासम्पन्न होटल निर्माण हुनु सकरात्मक हो,’ अध्यक्ष शाहले भने, ‘यसले रोजगारी सिर्जना समेत गर्छ।’ सामान्यतयाः एउटा पाँचतारे होटल सञ्चालन हुँदा प्रत्यक्ष रुपमा ठूलो संख्यामा रोजगारीको अवसरहरु खुल्छ। यस्तै त्यसको प्रत्यक्ष प्रभाव खुद्रापसलदेखि किसानसम्म पुग्छ।
यी हुन सञ्चालनको तयारीमा रहेका पाँचतारे होटल
बुटवलमा हायात
बुटवलमा पहिलो पाँचतारे होटल सफ्रोन सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। सफ्रोन सीके प्रालिले निर्माण गरेको होटल अन्तर्राष्ट्रिय चेन होटल हायातको नाममा सञ्चालनमा आउनेछ।
जग्गासहित कुल लागत ४ अर्ब रुपैयाँ रहेको होटल एक बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। होटलमा १०७ कोठा छन्। होटल सन् २०२५ भित्रै सञ्चालनमा आइसक्ने बताइएको छ।
मक्याेर
काठमाडौंको सुकेधारामा निर्माणाधीन मक्र्यूर होटल सञ्चालनको अन्तिम तयारीमा छ। सन् २०२५ भित्र सञ्चालनमा आइसक्ने होटल १० तले हुनेछ। होटलमा द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूह भित्रिएको छ।
१०५ कोठा रहने होटलमा जिम, स्वीमिङ पुललगायत पाँचतारेका आवश्यक सबै सुविधा उपलब्ध हुनेछन्।
द मसिफ होटल
गुण ग्रुपको पहिलो पाँचतारे होटल द मसिफ अन्तिम चरणमा पुगेको छ। ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको होटल सन् २०२५ भित्रै सञ्चालनमा ल्याउने तयारी छ। १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटलमा साढे ६ अर्ब रुपैयाँ लगानी छ। होटलमा ३०२ कोठा रहनेछन्।
विराटनगरमा होटल र्याडिसन
सन् २०२५ भित्रै सञ्चालनमा आउने गरी विराटनगरमा पाँचतारे होटल ¥याडिसन निर्माण भइरहेको छ। सेन्चुरी ग्रुप अफ कम्पनी मातहतको सेन्चुरियन होटलले उक्त ब्रान्ड भित्र्याएको हो। होटलमा १४० कोठासँगै स्वीमिङ पुल, जिम, स्पा, १० हजार वर्गफिटको विशेष प्रकारको रेस्टुरेन्ट तथा बैंक्वेट र क्यासिनो पनि हुनेछ। ३ अर्ब लगानी रहने होटल सञ्चालक व्यवसायी मोतिलाल दुगड हुन्।
सौराहामा रोयल टुलिप
सन् २०२५ भित्रै सञ्चालनमा आउने गरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ निर्माण भइरहेको छ। हस्पिटालिटी व्यवसायमा विश्वबजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्ससँगको ब्रान्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा आउने भएको हो। केटिएम हस्पिटालिटी नेपालका अध्यक्ष रामेश्वर साहको लगानी रहेको रिसोर्टमा लागत १ अर्ब ५० करोड रुपैयाँ लगानी पुगेको छ।
३ बिघा क्षेत्रफलमा निर्माण भएको रिसोर्टमा ६५ वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहेको छ। सो रिसोर्टमा २१ वटा भवन संरचना बनेको छ। तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहेको छ।
रिसोर्ट प्रवेश गरेलगत्तै रिसेप्सन, बिजनेस लाउन्ज, बार, किचन रहेको छ। प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ। रिसोर्टमा हेल्थक्लब र स्पा सञ्चालन हुने छ।
रिसोर्टमा हेल्थ क्लब, पाँच सय क्षमताको बैंक्यूट हल, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ। कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने जनाएको छ।
होटल इस्टर्न नेपाल
झापाको धुलाबारीमा अवस्थित पाँचतारे होटल इस्टर्न निर्माणको अन्तिम चरणमा पुगेको छ। सन् २०२५ भित्रै सञ्चालनमा आउने होटलमा २ अर्बभन्दा बढी लगानी गरिएको छ। डेढ बिघा क्षेत्रफलमा निर्माण भइरहेको होटलमा ८७ कोठा हुनेछन् भने सुविधासम्पन्न क्यासिनोसमेत सञ्चालन गरिनेछ।
ग्रान्ड सेन्ट्रल होटल
सुनसरीमा निर्मित पाँचतारे होटल ‘ग्रान्ड सेन्ट्रल’ निर्माणको अन्तिम चरणमा रहेको छ। १ अर्ब ७ करोड २० लाखमा निर्माण भइरहेको होटल सन् २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य छ। पूर्ण रूपमा सन् २०२६ को सुरुआतमै सञ्चालनमा ल्याइसक्ने बताइएको छ। होटल व्यवस्थापन विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्रान्ड ‘रमडा’ले लिइसकेको छ। ८ तले होटलमा ८० कोठा रहनेछन्। होटलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुललगायत सुविधा रहनेछन्।