काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लगानीकर्ताले लाभांश खान नपाउन् भनेर धेरै प्रोभिजन नगराएको बताएका छन्। कर्जा प्रवाह गर्दा संयमित हुने बैंकलाई अहिले पनि कुनै समस्या नरहेको उनको धारणा छ। नेपाल बैंकर्स संघको ३८औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
उनले भने, ‘व्यवसाय र बैंकलाई टिकाउन चुनौती कोभिडको समयमा थियो। अहिले त्यस्तो अवस्था छैन। अहिले क्रमशः ग्लोबलाइजेसनको सिकार पनि भएका छाैं। भोलि के कुरा निश्चित छ भनिहेर्दा अनिश्चित मात्रै निश्चित छ। हाम्रा चुनौती धेरै छन। बैंकिङ क्षेत्र थप संवेदनशील हुनुपर्छ’, उनले भने।
राष्ट्र बैंकले समग्र आर्थिक स्थायित्वलाई हेरेर नीति र नियमन बनाउने हुँदा त्यो विश्वसनीय हुने उनको भनाइ छ। ‘नीति फेरिन्छ, एउटै रहँदैन। आवश्यकताका आधारमा नीति फेरिन्छ। नीति अनुमानयोग्य छ कि छैन भन्ने कुराले महत्व राख्छ। सधैं एउटै रेट रहन्छ भन्ने छैन।’
पछिल्लो समय बाहिरी कारणले नेपालका बैंकमा समस्या देखिएको उनको दाबी छ। बाहिरी समस्याले गर्दा कर्जा असुली नहुँदा एनपिल र एनपिए बढेको उनले बताए। त्यसमा प्रोभिजन गराउनु राष्ट्र बैंकको काम भएको गभर्नर अधिकारीले सुनाए।
‘अहिले बैंकहरु रिकोभरी गर्न नसक्दा र एनपिएल बढ्दा पनि पर्याप्त तरलता हुनु भनेको रेमिट्यान्सको योगदानले हो। रेमिट्यान्स पर्याप्त नभए भयावह हुन्थ्यो’, उनले भने।
बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट ऋण नतिरे पनि हुन्छ भन्ने हल्ला फिँजाइएका कारण तल्लो तहबाट काम हुन नसकेको गभर्नर अधिकारीको भनाइ छ। ‘बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज भयो। नाफाबिना बैंक चल्न सक्दैन। पुँजी लगानी गरेपछि प्रतिफल चाहिन्छ’, उनले भने।
पछिल्लो दिन सुधारको लहर देखिन थालेको उनले बताए। यसो गर्दा हिजो नोक्सानी व्यवस्था गरेको रकम फिर्ता हुने र लगानीकर्ताले प्रतिफल पाउने अवस्था सिर्जना हुने गभर्नर अधिकारीको भनाइ छ।
‘प्रोभिजन र रिडेम्सन रिजर्भलगायतले बैंकलाई बचाएको छ। कोभिडका बेला हामीले अर्थतन्त्र बचायौं। आर्थिक सुस्तता कम भएसँगै अब बैंकले प्रतिफल दिने दिन विस्तारै आउँदै छ। राष्ट्र बैंकले एउटै पोलिसी रेट राखिदियोस भन्ने अपेक्षा गलत हो। सधैं ५ प्रतिशत राख्दा अरु स्थिति के हुन्छ, त्यो बुझ्नुपर्छ,’ उनले भने।
कर्जा लिएर ऋण नतिर्दा पनि हुन्छ भने भावना विकास हुँदा बैंकलाई समस्या थपिएको गभर्नर अधिकारीले दाबी गरे।