काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्च स्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतमा अर्थमन्त्री पौडेलले आफ्नो मन्तव्य राखेका थिए। यस क्रममा उनले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने बताउँदै पुँजी विस्तार र परिचालनलाई प्रोत्साहन गर्नु पर्ने बताए।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरेका हुन्।
त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो। एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पुँजीलगायत धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा नीति, नियम र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई सामूहिक रुपमा अघि बढाउनु पर्ने बताए।
आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ थियो।
अर्थमन्त्री पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्री, राजनीतिक दलका नेता, विज्ञ, विकास साझेदारलगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्ताबेजलाई समृद्ध पार्न सहयोग गर्ने धारणा समेत व्यक्त गरेका थिए।