काठमाडौं। बुधबार सेयर बजार सूचक नेपला स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार २.९४ अंकले बढेर २६३३.८७ बिन्दुमा रोकिएको थियो।
आज नेप्सेमा कुल ४ अर्ब २१ करोड रुपैयाँ बरारबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये ८१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ। यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुधबार कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९० प्रतिशत, डोल्टी पावर कम्पनी ५.३३ प्रतिशतले घटेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.३६ प्रतिशत, विकास बैंक समूह ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४२ प्रतिशत, हाइड्रोपावर समूह ०.३६ प्रतिशत, लगानी समूहको ०.३२ प्रतिशत, जीवन बिमा समूह ०.३३ प्रतिशत, उत्पादन समूह ०.३२ प्रतिशत, म्युचुअल फन्ड समूह ०.२६ प्रतिशत, र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.३७ प्रतिशतले घटेको छ।
यस्तै, फाइनान्स समूहको सेयर मूल्य १.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको सेयर मूल्य ०.०९ प्रतिशतले बढेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनीको १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता सेयर किनबेच भएको छ।