काठमाडौं। जापानी अटो कम्पनी होन्डा र निसानबीच मर्जर वार्ता सुरु भएकाे छ। विशेषगरी चीनमा इलेक्ट्रिक भेहिकल (ईभी) निर्मातासँग प्रतिस्पर्धा गर्न सम्भावित मर्जरबारे दुई कम्पनीबीच वार्ता सुरु भएको बताइएको छ।
गत मार्चमा यी दुई जापानी कार निर्माता कम्पनीले ईभीका लागि रणनीतिक साझेदारीका लागि सहमत भएका थिए। हाेन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावना खोजिरहेका बेला मर्जर वार्ता अगाडि बढेको हो।
चीनमा ईभी उत्पादन बढ्दै गएपछि पेट्रोल र डिजेल सवारीसाधनबाट विद्युतीय सवारी साधनमा सर्ने क्रममा धेरै कार ब्रान्डले प्रतिस्पर्धाको सामना गरिरहेका छन्। यही बेला विश्व ब्रान्ड होन्डा र निसानबीच मर्जर वार्ता भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन्।
छलफल प्रारम्भिक चरणमा रहेकाले हालसम्म कुनै सम्झौता भने भएको छैन। यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न सघाउनेछ।
यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको थियो। होन्डाका एक प्रवक्ताले भनेका छन्, ‘सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ। छलफल चलिरहेकाले निष्कर्ष निस्किसकेको छैन।’
हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाबारे छलफल गरिरहेका छौं। निशानले भनेको छ, ‘यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन्। यदि कुनै नयाँ घटनाक्रम विकास भए उपयुक्त समयमा हाम्रा सरोकारवालालाई सूचित गर्नेछौं।’
विशेषगरी निशानले गत महिना ९ हजार रोजगारी कटौती घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो।
दुई कम्पनीबीच मर्जर छलफल सुरु भएको खबर बाहिरिएसँगै बुधबारको सुरुवाती कारोबारमा निसानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको सेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो। मित्सुबिसी मोटर्सको सयर मूल्य १४ प्रतिशतले बढेको छ।
यी कम्पनीको झन्डै ५० अर्ब डलर पुँजी रहेको छ। यो मर्जरबाट निसानलाई सबैभन्दा बढी फाइदा हुने बताइएकाे छ। कम्पनीबीच मर्जर सहमतिमा पुगे लाखाैंकाे राेजगार कटाैती हुनेछ।– एजेन्सीको सहयोगमा