काठमाडौँ। राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारमा स्थापित कालीकोटका लालीघाट र जितेगडा बजार अहिले सुनसान भएका छन्। कर्णाली राजमार्ग र कालीकोट-जुम्ला राजमार्ग जोड्ने संगम स्थलका रुपमा रहेका लालीघाट र जितेगडा बजार अहिले सुनसान भएका हुन्।
कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका नरहरिनाथ गाउँपालिका १ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका २ मा पर्ने जितेगडा बजार अहिले सुनसान भएको हो।
विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट र जितेगडा बजार अहिले पूरै खाली छन्। विगतमा सडकको पहुँच नहुँदा यी बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेको थियो। अहिले गाउँमा सडक पुगेपछि बजार सुनसान बनेको जितेगडा बजारका व्यापारी तथा कालीकोट उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताउँछन्।
‘हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो,’ उनले भने, ‘अहिले गाउँगाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो।’
सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रुपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नु परेको शाहीले बताए।
कर्णाली र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले अयन्त्र सर्न पुगेका नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए।
‘विं.सं. २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो,’ उनले भने, ‘पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन्।’