काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व पाएको झण्डै एक महिना पुग्न लागेको छ। विगत ११ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको सेबोनको नेतृत्वमा गत १२ मंसिर सन्तोषनारायण श्रेष्ठले पद वहाली गरे। उनी अध्यक्ष भएसँगै बोर्डले पुँजीबजार सुधारमा के-कस्ता काम गरिरहेको छ भन्ने विषय लगानीकर्ताको चासोमा परिरहेको छ।
पछिल्लो दुई सातायता सेयर बजारले पक्रिएको अनपेक्षित र अस्वाभाविक गतिका कारण पनि लगानीकर्ताले सेबोनले चाल्ने आगामी कदमलाई चासोका साथ हेरिरहेका हुन्। मंसिर १८ मा २७७५ बिन्दुमा रहेको सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यसयता नौ कारोबारमध्ये दुई दिन बढेको छ। बाँकी सात दिन घट्दै मंगलबार २६३३.८७ बिन्दुमा सीमित भएको छ।
साथै, पछिल्लो समय वित्तीय सूचकमा बलिया, लगानीकर्तालाई प्रतिफल दिइरहेका र राम्रो व्यवस्थापन भएका कम्पनीभन्दा पनि कमजोर कम्पनी बढी मात्रामा चलिरहेका छन्।
कमजोर कम्पनीको सेयर मूल्य बढाएर माथि पुर्याउने र सोही गतिमा तल झार्ने क्रम बढ्दो छ। यसले केही सीमित व्यक्तिलाई फाइदा पुग्ने निश्चितत छ। तर, अधिकांश लगानीकर्ता उच्च जोखिममा धकेलिने भएकाले नियामक निकायले हस्तक्षप गर्नुपर्ने विषय उठिरहेको छ।
पुँजी बजारलाई अनुशासित र स्वच्छ बनाउने जिम्मेवारी बोर्डको भएकाले बजारमा अस्वस्थ वातावरण सिर्जना गर्ने कार्यलाई नियमन गर्नु पर्ने आवश्यक्ता देखिन्छ।
बजारमा विभिन्न किसिमका हल्ला र अफहवा चलेका छन्। यसकै आडमा बजार घटाउने र बढाउने खेल चलिरहेको छ। साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजङ्ग जिसी बजारमा अनावश्यक र हुँदै नभएका विषयमा हल्ला फैलाएर लगातार बजार घटाउँदा नियामकले ध्यान दिन नसकेको बताउँछन्। लामो समय न्यून बिन्दुमा रहेको बजार अझै माथिल्लो बिन्दु पुग्नु पर्नेमा सीमित समूह तथा व्यक्तिको गलत प्रचारले संकुचनमा गएको उनको तर्क छ।
‘बोर्डले नेतृत्व पाएको करिब एक महिना भइसकेको छ, बजारमा अस्वभाविक गतिविधि देखिँदा पनि सेबोनले कुनै किसिमको भूमिका निर्वाह गर्न सकेको छैन,’ अध्यक्ष जिसीले भने, ‘बजार सुधारका लागि गर्नुपर्ने आवश्यक काममा बोर्डबाट के हुँदै छ, कसरी अगाडि बढ्दै छ भन्ने जानकारी दिइएको छैन, सरकार र नियामक निकाय उदासिन हुँदा पुँजी बजार झनै अपरिपक्व बन्दै गएको छ।’
जिसीले स्वयं सेबोन तथा विभिन्न विषयसँग जोडेर नभएका र हुँदै नहुने विषयमा फैलाइएको भ्रमका विषयमा स्पष्ट पार्दा उचित हुने बताए। पुँजीबजारलाई अनुशासित र स्वच्छ बनाउने जिम्मेवारी बोर्डको भएकाले बजारमा अस्वस्थ वातावरण सिर्जना गर्ने कार्यलाई नियमन गर्नुपर्ने आवश्यक्ता देखिन्छ।
यद्यपि, पुँजीबजार सबल र सुदृढ बनाउने अन्य दजर्नौं मुद्दा पनि छन्। जसमा बोर्डले धेरै काम गर्नु पर्ने आवश्यक्ता देखिन्छ। करिब एक वर्षदेखि पाइपलाइनमा रहेका सार्वजनिक निष्कासन (आइपिओ), थप सार्वजनिक निष्कासन (एफपिओ), सामूहिक लगानी कोष (म्युचुअल फण्ड), हकप्रद सेयर (राइट सेयर) र ऋणपत्र (डिबेञ्चर) निष्कासन कार्यलाई निरन्तरता दिन आवश्यक छ।
तथापि, यी समग्र विषयमाथि अध्ययन गरिरहेको र आगामी दिनमा बजार सुधारका लागि काम गर्दै जाने बोर्डका अध्यक्ष श्रेष्ठ बताउँछन्। ‘अध्यक्षमा नियुक्ती भएपछि योबीचमा विभिन्न विषयलाई हेरेर काम गर्ने तयारी भइरहेको छ, पहिलो प्राथमिकतामा मैले संस्थागत सुदृढीकरणलाई राखेको छु,’ उनले भने, ‘संस्थालाई सुदृढ बनाउँदै पुँजी बजार सुधारका लागि अन्य कामहरू निरन्तर अगाडि बढाउने योजनामा हामी छौँ।’
बुक बिल्डिङमार्फत् आइपिओ जारी गर्ने विषय र प्रिमियम मूल्यमा सेयर जारी गर्ने विषय यसअघि विवादमा तानिएकाले आइपिओ जारी गर्ने कार्य सेबोनका लागि सहज देखिँदैन।
उनले लामो समय बोर्ड अध्यक्षविहीन अवस्थामा रहँदा रोकिएका सम्पूर्ण कार्यलाई अगाडि बढाउने विषयमा पनि काम गरिरहेको बताए। ‘लामो समयदेखि रोकिएका आइपिओ, एफपिओ, राइटसेयर आदिलाई स्वीकृति दिनु पर्ने छ, बजार अस्वस्थ बनेको विषय पनि आइरहेको छ, यसमा हामीले नियमित रुपमा गर्दै आएको अनुगमन र नियमनको काम गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘आवश्यक्ताका आधारमा हामी यी विषयमाथि निगरानी पनि बढाउँदै लैजाने छौँ।’
उनले लगानीकर्ताबाटै बजार अस्वस्थ ढंगमा चलाउने गरेको गुनासो आएकाले यसलाई बोर्डले नजिकबाट नियालेको बताए। पुँजी बजार सुधारका लागि नेप्सेसँग पनि नियमित सम्पर्क र सहकार्यमा रहेको उनको भनाइ थियो।
अध्यक्षमा नियुक्त भएको छोटो समय भएकाले कुन विषय कस्तो अवस्थामा छन्? र के निर्णय लिँदा उचित हुन्छ? भन्ने विषय बुझ्न समय लाग्नु स्वभाविक हो। बुक बिल्डिङमार्फत् आइपिओ जारी गर्ने विषय र प्रिमियम मूल्यमा सेयर जारी गर्ने विषय यसअघि विवादमा तानिएकाले आइपिओ जारी गर्ने कार्य सेबोनका लागि सहज देखिँदैन। नीतिगत सुधारदेखि लामो समयसम्म पेचिलो बनिरहेको नयाँ स्टक एक्सचेञ्जको विषयलाई पनि बोर्डले पार लगाउनु पर्ने बाध्यकारी अवस्था आइपरेको छ।
बजार सञ्चालन, कारोबारको राफसाफ तथा फर्स्याेट र बजार सुपरिवेक्षण प्रणालीको कमजोर अवस्था सुधार गर्नु पर्ने तथा सूचना प्रवाहको कमजोर अभ्यासलाई बलियो बनाउनुपर्ने दायित्व सबोनमाथि छ। नीतिगत स्थिरता दिई बजारको दिगो र स्थिर विकास गर्नुपर्ने, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङको संरचनात्मक सुधार र कार्य सञ्चालन प्रभावकारिता बढाउनुपर्ने तथा धितोपत्रको दोस्रो बजारको पहुँच देशको सम्पूर्ण भागमा लैजाने भूमिका खेल्नुपर्ने मुख्य जिम्मेवारी सेबोनले पूरा गर्नुपर्नेछ।
वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा भित्र्याउन, गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गराउने, म्युचुअल फण्ड, बण्ड मार्केट (सरकारी तथा कर्पोरेट) विकासमा बोर्डले प्रभावकारी काम गर्न जरुरी छ।
श्रेष्ठ अध्यक्षमा नियुक्त हुनासाथ सेयर लगानीकर्ताले पुँजीबजार सुधारका लागि गर्नुपर्ने दर्जनौं सुझाव दिएका छन्। यी समग्र विषयलाई प्राथमिकताका आधारमा काम गर्दै जाने उनको भनाइ छ।