काठमाडौं। एमजी मोटर नेपालले ‘एमजी विन्टर कार्निभल २०२४’ आयोजना गर्ने भएको छ।
डिसेम्बर २० देखि २२ सम्म सिल्भर ओक बालुवाटारमा हुने कार्यक्रममा एमजी, माज्दा, माक्सुस र वुलिङलगायत प्रमुख लक्जरी अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ। यसले सहभागीलाई प्रिमियम सवारी साधनको दायरा अन्वेषण गर्ने, अनुभव गर्ने र प्रत्यक्ष मनोरञ्जनको आनन्द लिने असाधारण अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
एमजी शीतकालीन कार्निभल २०२४ का मुख्य आकर्षणमा विशेष एक्सचेन्ज अफरअन्तर्गत प्रदर्शनमा रहेका कुनै पनि लक्जरी गाडीमा अपग्रेड गर्दा विनिमय मूल्य र १० लाखसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ।
अन–द–स्पट फाइनान्सिङ, एमजी, माज्दा, माक्सुस र वुलिङको टेस्ट ड्राइभ, संगीत, खाना र खाजा, सबै उमेर समूहका लागि कला प्रस्तुति, सुटिङ खेल र अन्य रमाइलो गतिविधिको आनन्द लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष खेल हेर्न सकिने व्यवस्था मिलाएको छ।
‘सबैलाई सिल्भर ओक बालुवाटारमा डिसेम्बर २० देखि २२, २०२४ सम्म सहभागी हुन निम्तो गर्छौं। यो कार्निभल तपाईंको गाडी अपग्रेड गर्ने, प्रिमियम मनोरन्जनको आनन्द लिने र विशेष अफर अनि वित्तीय विकल्पको फाइदा उठाउने एउटा असाधारण अवसर हो’, प्यारामाउन्ट मोटर्सका एक प्रतिनिधिले भने।