गलकोट । कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ ।
नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गरेका हुन् । विसं २०२० सालमा नेपाली सेनामा भर्ती भएर २०४३ सालमा अवकाश प्राप्त खत्री अहिले निरन्तर कृषि पेशामै सक्रिय छन् । खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गरेका छन् । गत वैशाख महिनामा छर्नुभएको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ ।
समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गरेका हुन् । यसअघि परम्परागत ढङ्गबाट मकै तथा तरकारी खेती गर्दा धेरै दुःख गर्नुपरेको भन्दै सहजताका लागिसमेत सूर्यमुखी खेती गर्नु परेको उनको भनाई छ ।
उनले गत वैशाखमा प्रतिकेजी एक हजार २०० मा सूर्यमुखीको बीउ किनेर छरेको बताउँदै साउनमा सूर्यमुखी पाक्ने बताए । पहिलोपटक परीक्षणका लागि लगाएको सूर्यमुखी फूलेको देख्दा आफू यो व्यवसायमा सफल हुने खत्रीले बताए । सूर्यमुखी खेती एक वर्षमा दुईपटक गर्न सकिने छ ।
खत्रीले उत्पादन अगावै २५ लिटरभन्दा बढी तेल र २० केजी बीउको माग भइसकेकाले बजारीकरणका लागि समस्या नहुने बताए । लगानी कम लाग्ने, उत्पादन छिटो दिने, तोरी पेल्ने मेसिनमा पेल्न मिल्ने र अन्य बालीको तुलनामा यसमा मेहनत कम लाग्ने भएकाले यसलाई विस्तार गर्दे लैजाने योजना खत्रीको छ ।
खत्रीका दुई छोराबुहारी जापानमा छन् । गाउँमा खत्री दम्पती मात्रै बस्दै आएका छन् । घरबारी धेरै भएपनि काम गर्ने मानिस नभएपछि मकै, कोदो लगाउन समस्या भएपछि सजिलो पेशामा लागेको खत्रीले बताउनुभयो । मकै, गहुँ र कोदो जस्तो मेहनत गर्न नपरे पनि सिँचाइ, गोडमेल तथा प्रशस्त मल आवश्यक रहेको खत्रीको अनुभव छ । अहिलेसम्म उहाँले सूर्यमुखी खेतीका लागि जम्मा रु।४० हजार लगानी गरेका छन् ।
बागलुङ जिल्लाका होचो भू–भागमा सूर्यमुखी खेती फस्टाउने राम्रो संभावना रहेको भन्दै स्थानीय सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्ने खत्रीको भनाइ छ । बसाइँसराइ तथा विदेश जाँदा अधिकांश जमीन बाँझो हुनगएको भन्दै बाँझो जग्गाको सदुपयोग सूर्यमुखी खेतीले गर्ने उनले बताए ।
कृषि ज्ञान केन्द्र पर्वतमा प्राविधिक सल्लाह तथा सहयोग माग गर्न गएपनि सुनुवाइ नभएको खत्रीले गुनासो गरे । स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल निकै फाइदाजनक मानिने चिकित्सकको भनाइ छ । कोलस्ट्रोल तथा मुटु रोगीलाई सूर्यमुखी तेल निकै हितकर मानिने हुँदा यसको माग निकै रहेको छ ।
तराईका जिल्लामा हुँदै आएको सूर्यमुखी खेती पहाडमा समेत गर्न सकिने भन्दै खत्रीले पहिलोपटक सूर्यमुखी खेती थालेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा समेत केही जग्गामा परीक्षणका लागि सूर्यमुखी खेती थालिएको छ । रासस