काठमाडौँ। पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ। विगत २५ वर्षदेखि निरन्तर रेष्टुरेण्ट एण्ड वार एशोसियशन (रेवान) पोखराले नयाँ वर्षको स्वागतमा सडक महोत्सव गर्दै आएको छ।
आन्तरिकसँगै बाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा विकास गराउने उद्देश्यले सडक महोत्सव आयोजना हुन लागेको हो। पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदै छ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई परिवर्तित समयसँगै थप आर्कषक बनाउने काम भइरहेको जनाइएको छ।
कला-संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचार प्रसार तथा ब्राण्डिङ गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिँदै आएको बताइएको छ।
समग्रमा सडक महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान बनाउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको उल्लेख छ।
पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो। नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर, विगत २५ वर्षदेखि निरन्तरताले विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको रेवानको भनाइ छ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका लोपउन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुब, पोखराको पर्यटन विकास, प्रवर्द्धन, बबसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम हुनेछन्।
यस्तै, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पतीलगायत कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ। पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्ट्री प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याएर सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने जानकारी रेवानले गराएको छ।