काठमाडौँ। ‘अब किबी उखेलेर, अलैँची लगाउने हो,’ मकैबारी मासेर किबी लगाएका विनोद खतिवडा भन्छन्। सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने बताउँदै उनले किबीभन्दा अलैँचीबाट धेरै फाइदा हुने बताए।
उनले मकै छर्ने बारीमा हाल करिब २० बोट किबी रोपेका छन्। किबी र अलैँची तुलना गर्दै उनले थपे, ‘त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन बढी फल्ने थियो, अहिलेको भाउमा पनि दुई लाखभन्दा बढी हुन्थ्यो।’
२० बोट किबीबाट अहिले पाँच हजार आम्दानी गर्न कठिन भएको उनको भनाइ थियो। इलाम सन्दकपुर गाउँपालिकाका किसान खतिवडाले मात्र हैन यस क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाउँदै आएका छन्।
अलैँचीले दिने आम्दानी अन्य खेतीबाट नहुने किसानको अनुभव छ। अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो एक सयदेखि डेढ सयमा बिक्री हुँदै आएको छ। तर, अलैँची प्रतिकिलो झण्डै तीन हजारमा बिक्री भइरहेको छ। अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्ममा कारोबार भइरहेको छ।
कुनै बेला प्रतिकिलो छ सयमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ। किबीमा भएको लागतअनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ।
किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाले बताए। किसान आफैँले बजारमा लैजानु पर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनी बताउँछन्।
सुरुमा किबी खेती गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरे पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको उनको अनुभव छ।