काठमाडौं। जापानमा बसेर नेपालमा लगानी विस्तार गर्दै आएको होकाइदो ग्रुपले रिसोर्ट र रेस्टुरेन्टपछि मार्ट सञ्चालनमा ल्याएको छ। जापानमा सिप सिकेर नेपालमा फर्किएका महिलालाई रोजगारी दिन र नेतृत्व दिने लक्ष्यसहित होकाइदो नेपाल बिजनेस ग्रुपले होकाइदो मार्ट सञ्चालनमा ल्याएको हो।
होकाइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जापानमा लामो समय बसेर नेपाल फर्किएकालाई रोजगारीसँगै लगानी अवसरसमेत दिन होकाइदो मार्ट सञ्चालनमा ल्याइएको बताए।
जापानको प्रविधि र ज्ञानलाई नेपालमा ल्याएर कस्मेटिक सामान उत्पादन गर्ने उद्देश्यका साथ पहिलो चरणमा जापानबाटै सामान ल्याएर होकाइदो ब्राण्डमा बिक्री वितरण सुरु गरिएको उनकाे भनाइ छ। अहिले ती उत्पादन भाटभटेनी र सेल्सबेरीमा बिक्री वितरण सुरु गरिसकेको उनले जानकारी दिए।
पछिल्लो समय नेपालबाट जापान जानेहरुको संख्या बढिरहेका बेला त्यहाँका उत्पादन नेपाली बजारमा उपलब्ध गराउने मुख्य उद्देश्य ग्रुपको रहेको जनाएको छ। पहिलो चरणमा जापानबाट सामान ल्याएर बिक्री गर्ने र दोस्रो चरणमा नेपालमै उत्पादन गरी विदेशमा निर्यात गर्नेसहितको लक्ष्यका साथ कम्पनीले काम गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ। मार्ट सञ्चालनका लागि १० करोड रुपैयाँ लगानी गरिएको उनले बताए।
महिलालाई नेतृत्व दिँदै
विदेश जान रोक्न नसके पनि विदेशबाट सीप लिएर फर्किएकालाई स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्य होकाइदो मार्टको रहेको जनाएको छ। ग्रुपमा रहेका अधिकाशं नेतृत्व महिलालाई नै दिइरहेको अध्यक्ष अधिकारीको भनाइ छ। हाल होकाइदो मार्टको प्रबन्ध निर्देशकमा सुनिता अधिकारी र निर्देशकमा अन्जली अधिकारी रहेको उनले बताए।
महाराजगन्जमा केन्द्रीय कार्यालय रहेको होकाइदो मार्टमा ७० प्रतिशत बढी कर्मचारीसमेत महिला रहेको उनले जानकारी दिए।
‘कम्पनीमा ७० प्रतिशत महिलालाई लिडर बनाउने र उनीहरुलाई नै स्वामित्व हस्तारन्तरण गर्ने उद्देश्य ग्रुपको छ,’ अध्यक्ष अधिकारीले भने, ‘जापानमा बसेर फर्किएका महिलालाई विषेश प्राथमिकता दिनेछौं।’
रोजगारी र लगानीका अवसर स्वदेशमै दिलाउन सके विदेशमा जानेहरु पूर्ण रुपमा रोक्न नसके पनि विदेशबाट फर्किने वातावरण भने निर्माण गर्न सकिन्छ भन्ने उद्देश्य ग्रुपले लिइरहेको उनकाे भनाइ छ। पछिल्लो समय नेपालमा विदेशी ब्राण्डका कस्मेटिक सामान प्रयोग गर्ने क्रम तीव्र बढिरहेको भन्दै होकाइदो मार्टले जापानिज् सामान उपलब्ध गराइरहेको उनको भनाइ छ।
पाँच वर्षअघि भित्र्याएका थिए जापानिज् खाना रामेन
२०७६ मा अधिकारीले जापानको प्राचीन खाना रामेन नेपालमा भित्र्याएका थिए। बूढानीलकण्ठमा रहेको पार्क भिलेजमा होकाइदो रामेन रेष्टुरेन्ट सञ्चालन गरेका अधिकारीले काठमाडौंमा मात्र ६ वटा आउटलेट सञ्चालन गर्दै आएका छन्। कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन्।
केही वर्षदेखि बूढानीलकण्ठमै देकाइदो अनसिन रिसोर्टसमेत सञ्चालन गर्दै आएका छन्।