काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनता केन्द्रितसहित सेवा मैत्री हुनु पर्ने बताएका छन्।
ललितपुर महानगरको १०६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अोलीले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान गर्नेतर्फ प्रतिबद्ध भएको दाबी गरे।
‘स्थानीय सरकार विगतको जस्तो कर उठाउनका लागि मात्र होइन, हाल यो नागरिक मैत्री पनि भएको छ,’ उनले भने, ‘सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट विकृति हटाउने काम भएका छन्, व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत हो।’
सोही अवसरमा प्रधानमन्त्री अोलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)माथि व्यङ्ग्य गर्न भ्याए। काठमाडौँमा महानगर प्रमुखको निर्देशनमा नगर प्रहरीले गरिब जनतामाथि आतंक मच्चाएको उनको भनाइ थियो।
‘ललितपुर नगर प्रहरी सम्मानित हुनु भएको छ, म धन्यवाद भन्न चाहन्छु, किनकि ललितपुर नगर प्रहरीले अर्कै लोकको केही आए झैँ गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिट्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्ने गरेको मैले देखेको छैन,’ उनले भने।
यस क्रममा उनले नगर प्रहरीलाई जनताले सुरक्षित महसुस गर्ने गरी काम गर्न आग्रह गरेका थिए।