काठमाडौँ। स्वास्थ्यवर्द्धक र पोषणयुक्त तोफुको बजार विस्तारमा पनिर बाधक देखिएको छ। जनजनमा पनिरको स्वाद बसिसकेको र त्यसलाई मेटाउन नसकेकाले तोफुको बजार विस्तार हुन नसकेको व्यवसायी बताउँछन्।
चिल्लोरहित र स्वास्थ्यका हिसाबले उत्तम मानिएको तोफुको बजार विस्तार नहुँदा त्यस क्षेत्रमा भएको लगानी जोखिममा पर्न थालेको चन्द्रागिरीमा भेराइटी फ्रेस एग्रो सञ्चालन गर्दै आएका सञ्जिव खड्काको अनुभव छ।
तोफु उत्पादकबीच अस्वस्थ प्रतिस्पर्धा र पनिरप्रति उपभोक्ताको लगावले यो क्षेत्रमा गरिएको लगानी संकटतर्फ गएको उनको भनाइ छ।
विगत ५ वर्षको तोफुको मूल्य हेर्दा पनि बजारमा स्थापित हुन संघर्ष गरेको देखिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको पुसको तुलनामा यस वर्षको सोही अवधिमा तोफुको मूल्य १० प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षको पुस १ मा प्रतिकेजी १२६ रुपैयाँ रहेको तोफूको मूल्य घटेर ११५ मा झरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१४ प्रतिशत कम हो।
२०७७ पुस १ मा प्रतिकेजी ८५ रुपैयाँ रहेको तोफुको मूल्य ०७८ पुस १ मा ८७ मा चढेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनिवार्य लाइसेन्स लिएर तोफु उत्पादन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। तर, कतिपय उद्योगले लागत महँगो हुने भएपछि लुकीछिपी तोफु बनाएर बजारमा पठाएका छन्, जुन स्वास्थ्यका दृष्टिकोणले राम्रा छैनन्।
उत्पादनले पनि उपभोक्तालाई तोफुका फाइदाबारे बुझाउन नसक्दा अहिले पनि पनिरप्रति आकर्षण धेरै छ।
सञ्चालक खड्काका अनुसार उनको उद्योगमा दैनिक ५ हजार पिस तोफु उत्पादन क्षमता छ। तर, दैनिक १ हजार पिस मात्रै उत्पादन गरेर बजारमा पठाइरहेका छन्।
भेगो फुड प्रालिकी सञ्चालक स्नेहा लोहियका अनुसार तोफु उत्पादन लागत अत्यधिक र मूल्य कम हुँदा बजारबाट उद्योगी लगानी डुबाएर पलायन हुने खतरा बढेको छ। अधिक मिहिनेत गर्नु पर्ने र बजारमा मूल्य त्यसअनुरुप नआउँदा समस्या भइरहेको उनको भनाइ छ।
भेगो फुडको उत्पादन क्षमता मासिक रुपमा एक हजार पिसको छ। तर, अहिले उनको उद्योग ५० प्रतिशत क्षमतामा चलिरहेको छ। तोफुको बजार नबढेकाले टिक्नै गाह्रो भएको उनको अनुभव छ।
भटमासबाट बन्ने तोफु हेर्दा पनिर जस्तै देखिन्छ। तर, यसको मूल्य पनिरको तुलनामा निकै सस्तो हुँदा पनि बजारीकरण हुन सकेको छैन। तोफु सदाबहार उत्पादन हुने भएकाले मूल्यमा ठूलो अन्तर हुँदैन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपाली बजारमा तोफु व्यापार तथा कारोबार कम हुने भएकाले मूल्यमा पनि धेरै घटबढ हुँदैन।
तोफुको व्यापार गत वर्षको तुलनामा यस वर्ष केही कम मात्रामा भएको व्यापारी बताउँछन्।