काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ खेल सुरु हुँदैछ। आठ टोली सम्मिलित एनपिएलको खेलबाट चार टोली बाहिरिसकेको छ।
बाँकी चार टोली शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्न सफल भएको हो। जसमा सुदूरपश्चिम रोयल्स १२ अंकसहित शीर्ष स्थानमा छ। कूल ७ खेल खेलेको सुदूरपश्चिमले ६ वटामा जित निकालेको थियो।
दोस्रो स्थानमा जनकपुर बोल्टस् रहेको छ। उसले ५ खेलमा जित निकाल्न सफल हुँदा दुई खेलमा पराजित भएको थियो। तेस्रो र चौथोमा क्रमसः चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। दुवै टोलीले ४ खेलमा जिन निकाल्दा ३ खेलमा हार बेहोरेका थिए।
प्लेअफको दुवै खेल भोलि हुँदैछ। पहिलो खेल बिहान ९ बजे चितवन र कर्णाली भिड्दै छ। यता, दोस्रो खेल १ बजे सुदूरपश्चिम र जनकपुरबीच हुँदै छ। एनपिएलमा उच्च लय सम्हाल्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र आक्रमक प्रदर्शन गरिरहेको जनकपुरको खेललाई फाइनलसरह लिइएको छ।
लिग चरणको खेलमा जनकपुरमाथि सुदूरपश्चिम विजयी भएको थियो । सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य पेश गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर जम्मा ५१ रनमा ‘अलआउट’ भयो।
यता, चितवनले शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र जनकपुरलाई हराउन सफल भएको थियो। यसका साथै चितवनसँग उच्च मनोबल रहेको छ। भारतीय चर्चित क्रिकेटर शिखर धवन आबद्ध कर्णालीले चार खेलमा जित निकाल्द नेट रन रेटमा अगाडि हुँदै अन्तिम चारमा पुगेको हो।
प्लेअफको भिडन्तमा उपाधिको दाबेदार मानिएका सुदूरपश्चिम र जनकपुरबीचको खेल फाइनलसरह हुने देखिएको छ। अघिल्लो खेलमा पराजित जनकपुरले सुदूरपश्चिमलाई हराउँदै सीधै फाइनलमा प्रवेश गर्ने लक्ष्य राख्ने छ। यता, जनकपुरमाथि फेरि एकपटक हाबी हुँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाउने उद्देश्य राख्ने छ।
यसैबीच, कर्णालीसँग लिग चरणमा भोगेको पराजितको बदला लिँदै चितवनले फाइनल प्रवेशको बाटो खुला गर्न चाहन्छ। आफ्नो खेललाई लयमा ल्याएको कर्णालीले पनि फेरि चितवनलाई पराजित गर्दै उपाधि रक्षा गर्न सक्दो प्रयास गर्ने छ।